
सभ्यता तिवारी-
रेडियो, केवल एउटा यन्त्र मात्र होइन, मानव इतिहासकै सबैभन्दा सशक्त, लचिलो र लोकतान्त्रिक सञ्चार माध्यमको सम्मानमा समर्पित एक विशेष वरदान हो। सूचना प्रविधिको तीव्र विकाससँगै आज हाम्रो हातमा स्मार्टफोन, सामाजिक सञ्जाल र द्रुत गतिको इन्टरनेट उपलब्ध छ। तर, यी सबै अत्याधुनिक साधनहरूको उदय हुनुभन्दा धेरै अघिदेखि रेडियोले भूगोल, पुस्ता र सीमाहरूको पर्खाल भत्काएर मानिसहरूलाई जोड्ने काम गर्दै आएको छ। आवाज, कल्पना, संवेग र अटुट विश्वासका भरमा रेडियोले विश्वलाई “वसुधैव कुटुम्बकम्” भनेझै एउटा सानो गाउँमा रूपान्तरण गरिदिएको छ। हरेक वर्ष फेब्रुअरी १३ का दिन विश्वभर मनाइने, आज ुविश्व रेडियो दिवसु ।
रेडियो एउटा सहयात्री हो, जसले अँध्यारो रातहरूमा न्यानोपन दियो, एउटा शिक्षक हो, जसले अक्षर चिन्नुअघि नै संसार चिनिन सहयोग गर्यो, र एउटा भरपर्दो पुल हो, जसले दुर्गम गाउँलाई राज्यको मूलप्रवाहसँग जोड्यो। रेडियोको इतिहास मानव मेधा र दृढ संकल्पको एउटा अद्भुत गाथा हो। सन् १८९५ मा मार्कोनीले पहिलोपटक लामो दूरीको ताररहित प्रसारण सफल बनाएपछि यसलाई व्यवसायिक रूपमा हेरिन थालियो। सन् १९२० को दशकसम्म आइपुग्दा रेडियो विश्वका विकसित देशहरूमा एक घरायसी आवश्यकता र सांस्कृतिक पहिचान बनिसकेको थियो। यसले मानिसहरूलाई पहिलोपटक समाचार, संगीत, शिक्षा, स्वास्थ्य सचेतना र राजनीति जस्ता विषयहरू एकैसाथ सुन्ने अवसर प्रदान गर्यो। रेडियोले एउटा असाधारण कुरा प्रमाणित गरिदियोस् बुझ्नका लागि देख्नु नै पर्छ भन्ने छैन र सिक्नका लागि साक्षर हुनैपर्छ भन्ने छैन। यही विशेषताले गर्दा नै विकासोन्मुख र भौगोलिक रूपमा विकट देशहरूमा रेडियो अद्वितीय रूपमा शक्तिशाली सावित भयो।
१०४ वर्षको निरंकुश राणा शासनको अन्त्यको प्रतिक एवं प्रजातन्त्रको उदयसँगै विराटनगरबाट ुप्रजातन्त्र रेडियोु का रूपमा सुरु भएको यो नव यात्राले नेपालको सन्दर्भमा रेडियोको इतिहास केवल प्रविधिको प्रवेश मात्र होइन, राजनीतिक र सामाजिक रूपान्तरणको साक्षी पनि बन्यो। २००७ साल चैत २० गते ९सन् १९५१ अप्रिल २० रेडियो नेपालको स्थापना हुनु नेपाली सञ्चार इतिहासको सबैभन्दा महत्त्वपूर्ण कोसेढुङ्गा हो। रेडियो नेपालको औपचारिक सुरुवात हुनुभन्दा धेरै अघिदेखि नै नेपालीहरूले छिमेकी राष्ट्रका रेडियो स्टेशनहरू सुन्ने स्वाद पाइसकेका थिए। नेपालीहरूले वास्तवमा कहिलेदेखि रेडियो सुन्न सुरु गरे भन्ने कुरा यकिनका साथ भन्न कठिन छ, तर नेपालीको रेडियोसँगको साइनो ७५ वर्षभन्दा पुरानो रहेको अनुमान गर्न सकिन्छ। नेपालको छिमेकी मुलुक भारतले सन् १९२३ सम्ममा रेडियो प्रसारण सुरु गरिसकेको हुनाले त्यहाँ कार्यरत नेपालीहरूले निश्चित रूपमा भारतीय प्रसारणहरू सुन्ने गर्दथे।
एक शोधपत्रमा उल्लेखित भएअनुसार, देवमणि दीक्षितले सन् १९२९ मा बेलायतबाट एउटा रेडियो आयात गर्नुभएको थियो। उक्त रेडियो पहिलोपटक बजाउँदा आयोजित भेलामा देवमणिका भतिजा मदनमणि दीक्षित स्वयम् पनि सहभागी हुनुहुन्थ्यो। उहाँको थप अनुमान अनुसार, सम्भवतः त्यो काठमाडौं उपत्यकाभित्र भित्रिएको सातौँ रेडियो सेट थियो। यस तथ्यका आधारमा यो सहजै लखकाट्न सकिन्छ कि रेडियो प्रविधि त्यस समयका राणा दरबारहरू र सम्भवतः भारतसँग सीमा जोडिएका केही नेपाली गाउँहरूमा निकै अघिदेखि नै प्रवेश गरिसकेको थियो।
रेडियो नेपालले केवल सूचना मात्र प्रवाह गरेन, यसले बहुभाषिक र बहुसांस्कृतिक नेपाललाई एउटै सूत्रमा बाँध्ने शुभ(कार्य पनि गर्यो। रेडियो नेपालको स्थापनासँगै देशमा एउटा नयाँ आधुनिक लोकतान्त्रिक वातावरणको सिर्जना भयो, जसले गर्दा जनताले पहिलोपटक आफ्नै भाषा र संस्कृतिमा आधारित कार्यक्रमहरू सुन्न पाए। लामो समयसम्म रेडियो नेपाल मुलुकको एकमात्र प्रसारण सेवा रह्यो। दुर्गम गाउँहरूमा, जहाँ बिद्युत पुग्न सम्भव थिएन, त्यहाँ समेत ब्याट्री रेडियो भन्किन थाल्यो। गाउँका चौतारीदेखि सहरका बैठक कोठाहरू सम्म रेडियो नै सबैको साझा चौतारी थियो।
२०५२ साल वैशाख १ गते ९सन् १९९५ अप्रिल १४० नेपालको रेडियो इतिहासमा अर्को महत्वपूर्ण मिति हो। रेडियो नेपालले ुएफएम काठमाडौुं सुरु गरेर नेपालमा एफएम प्रसारणको युगको सूत्रपात गर्यो। सर्टवेभको मधुरो स्वरबाट एफएमको स्पष्ट आवाजतर्फको यो यात्राले सहरी सञ्चारलाई नयाँ उचाइ दियो। पछि निजी र सामुदायिक क्षेत्रमा एफएम रेडियो खोल्ने क्रम तीव्र भयो, जसले गर्दा स्थानीय मुद्दाहरूले प्राथमिकता पाउन थाले।
नेपाल भौगोलिक र भू(गर्भिक बनावटका कारण भूकम्पीय दृष्टिकोणले विश्वकै जोखिमपूर्ण राष्ट्रहरूमध्ये पर्दछ। यस्तो प्राकृतिक संवेदनशीलता भएको मुलुकका लागि रेडियो केवल सूचनाको माध्यम मात्र नभई सुरक्षा र जीवन रक्षाको एक अभेद्य प्रविधि पनि हो। अन्य अत्याधुनिक सञ्चार माध्यमहरू, जस्तै मोबाइल नेटवर्क, इन्टरनेट र टेलिभिजन, विपद्का बेला भौतिक पूर्वाधारमा सामान्य क्षति पुग्ने बित्तिकै पूर्णतः ठप्प हुन सक्छन्। तर, रेडियोको प्रसारण र यसको पहुँचको लचिलोपनले यसलाई सङ्कटको समयमा सबैभन्दा सुरक्षित र भरपर्दो विकल्प बनाउँछ। यसको अर्थ रेडियोका भौतिक उपकरण वा टावरहरूमा कहिल्यै क्षति पुग्दैन भन्ने होइन, तर न्यून पूर्वाधार र बैकल्पिक उर्जाको सहयोगमा पनि सञ्चालन हुन सक्ने हुनाले यसले प्रतिकूल परिस्थितिमा पनि आफ्नो क्रियाशीलता गुमाउँदैन। यस तथ्यलाई २०७२ सालको विनाशकारी भूकम्प र २०८० सालको जाजरकोट भूकम्पले पुनः पुष्टि गरिसकेका छन्। जब औसतन सञ्चारका अन्य सबै द्वारहरू बन्द भएका थिए र मानिसहरू त्रास र अन्योलमा थिए, तब रेडियो नै त्यो एक मात्र माध्यम थियो जसले उद्धार, राहत र सचेतनाका सन्देशहरू गाउँ(गाउँसम्म पुर्याएर नागरिकलाई आड भरोसा प्रदान गर्यो।
आजको भिडियो र इन्टरनेटको युगमा पनि रेडियोको महत्त्व घटेको छैन, बरु यसको स्वरूप फेरिएको छ। रेडियो अझै पनि सबैभन्दा पहुँचयोग्य, सुलभ, समावेशी र भरपर्दो माध्यम हो। यसका लागि न त बिजुलीको भर पर्नुपर्छ, न त महँगो डाटा प्याकको। २०७२ सालको विनाशकारी भूकम्प होस् वा कोभिड(१९ को महामारी संकटका बेला रेडियो नै नागरिकको सबैभन्दा नजिकको र भरपर्दो साथी सावित भयो।
रेडियोको सबैभन्दा ठूलो शक्ति हो, यसको ुविश्वसनीयताु। सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना एवं असत्य समाचारको भीडमा रेडियोले अझै पनि सम्पादकीय जिम्मेवारी र सत्यतथ्य जाँचलाई प्राथमिकता दिन्छ। यसले समाजमा संवादको संस्कृतिलाई बढावा दिन्छ र नागरिकलाई जिम्मेवार बनाउन मद्दत गर्छ। रेडियोको बास्तविक क्षमता पक्कै पनि कम आँकिएको हो।
विश्व रेडियो दिवस मनाइरहँदा हामीले केवल एउटा यन्त्रको चर्चा गरिरहेका छैनौँ, बरु ती हजारौँ आवाजहरू र करोडौँ स्मृतिहरूको सम्मान गरिरहेका छौँ जसले हाम्रो समाजलाई आजको स्वरूपमा ल्याए। नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा रेडियो केवल सूचनाको साधन मात्र होइन, यो हाम्रो राष्ट्रिय चेतनाको धुकधुकी हो।
रेडियोका तरंगहरू सार्वजनिक नासो हुन्। यी तरंगहरूलाई जीवित राख्नु हाम्रो सामूहिक दायित्व हो। यदि रेडियोका आवाजहरू मौन भए भने, त्यो सञ्चार माध्यमको मात्र क्षति हुने छैन, बरु हाम्रो इतिहास, संस्कृति र विश्वासको एउटा ठूलो खण्ड हराउनेछ। रेडियो हिजो पनि हाम्रो घरको सदस्य थियो, आज पनि हाम्रो सहयात्री हो र भोलि पनि हाम्रो राष्ट्रको एउटा बलियो आवाज भइरहनेछ।