
सुनाखरी न्युज/ काठमाडौं ।
दक्षिण कोरियाका वैज्ञानिकहरूले एक सेकेन्डमै रगत रोक्न सक्ने स्प्रे पाउडर विकास गरेका छन् । केएआईएसटी विश्वविद्यालयको अनुसन्धान टोलीले विकास गरेको यो प्रविधिले गम्भीर रक्तस्राव तुरुन्तै नियन्त्रण गर्न सक्ने अमेरिकी वैज्ञानिक पत्रिका मेडिकल एक्सप्रेस ले जनाएको छ ।वैज्ञानिकहरूले एजीसीएल पाउडर नामक यो स्प्रे एल्जिनेट, जेलान गम र काइटोसान जस्ता प्राकृतिक सामग्रीको संयोजनबाट बनाएका हुन् । यस प्रविधिमा स्प्रे गरिएको पाउडरले रगतमा रहेको क्याल्सियमसँग प्रतिक्रिया गरेर तुरुन्तै जेल बनाउँछ र रक्तस्रावलाई बन्द गर्छ । यो पाउडरले आफ्नो तौलभन्दा ७ गुणा बढी रगत सोस्न सक्ने क्षमता राख्दछ ।
यो प्रविधि युद्ध क्षेत्र, दुर्घटनास्थल र शल्यक्रियामा जीवन बचाउन अत्यन्त उपयोगी साबित हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ । तर यस प्रविधिको व्यापक प्रयोग गर्न अझै केही चुनौतीहरू छन् । चिकित्सा नियामक निकायबाट स्वीकृति लिनु, ठूलो मात्रामा उत्पादन गर्नु र सर्वसाधारणको पहुँचमा पुर्याउनु प्रमुख चुनौती हुन् । यो आविष्कारले आपत्कालीन चिकित्सा सेवामा नयाँ युग शुरू गर्ने, जीवन बचाउने दर बढाउने र युद्ध तथा दुर्घटनाका घाइतेहरूको उपचारमा महत्त्वपूर्ण सुधार ल्याउने सम्भावना छ । विशेषगरी सैनिक अभियान, आपत्कालीन चिकित्सा सेवा र सर्जिकल उपचारमा यो प्रविधि अत्यन्त उपयोगी साबित हुन सक्ने विज्ञहरू बताउँछन् ।