
सुनाखरी न्युज/ काठमाडौं ।
रिज लाइन इनर्जी लिमिटेडले आजदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले दोस्रो चरण अन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरिसकेको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रूपैयाँको २२ प्रतिशत अर्थात २६ लाख ७ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १ लाख ४२ हजार २०० कित्ता साधारण सेयर वैदेशिक रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरि बाँडफाँट गरिसकेको छ।
अब दोस्रो चरण अन्तर्गत कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ११ लाख ८० हजार २६० कित्ता साधारण सेयर निष्कासन गरेको हो, जसको कुल रकम ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबर रहेको छ । यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आइपीओमा फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिभित्र सबै कित्ताको बिक्री नभएमा आवेदन अवधि फागुन १३ गतेसम्म लम्बिने कम्पनीले जानकारी दिएको छ ।