
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार २६.०५ अंक घटेको नेप्से सूचक मंगलबार १.२५ अंक घटेको हो ।
नेप्से सूचक मात्रै होइन, मंगलबार कारोबार रकममा पनि उच्च गिरावट आएको छ । यो साताको पहिलो दिन आइतबारदेखि नेप्से सूचक र कारोबार रकम दुवैमा निरन्तर गिरावट आएको नेप्सेले जनाएको छ ।
मंगलबार कारोबार सुरु हुँदा २६७२.३९ अंकमा रहेको नेप्से १०.२५ अंक घटेर २६६२.१४ अंकमा झरेको छ । नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि समग्र बजार सूचक नकारात्मक भएको हो ।
नेप्सेमा यस दिन १ सय ७९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ७४ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन नेप्सेमा कारोबार भएका ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।
मंगलबार नेप्सेमा ३ सय २४ कम्पनीको ८९ हजार ८ सय ३६ कारोबारबाट २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता सेयर ८ अर्ब ६१ करोड रुपैयाँमा खरिद बिक्री भएको छ ।
यो कारोबार रकम सोमबारको तुलनामा थोरै हो । सोमबार नेप्सेमा १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थियो ।