
सुनाखरी न्युज / काठमाडौं ।
सुरेन्द्र ढकाल , काठमान्डौ क्षेत्र न १ बाट स्वतन्त्र उमेदवार
चुनाब चिन्ह करौती
१) तपाईले फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावको लागि काठमाण्डौ क्षेत्र नं १ बाट स्वतन्त्र ढंगले उमेदवारी दिनु भएछ । मतदाताहरुलाई आफ्नो परिचय दिनुहोस् न ?
सुरेन्द्र ढकाल भनेको पहिलो त विशाल नेपाल महाअभियानको राष्ट्रिय संयाजक हो । दोश्रो, आफनो सम्पुर्ण पैत्रिक सम्पतिलाई सुरेन्द्र ढकाल प्रतिष्ठान बनाएर समाजसेवा गरिरहेको ब्यक्ति हो । २२ ओटा जिल्लामा मैले त्यसरी समाज सेवा आफनै स्रोत र सम्पतिबाट गरिरहेको छु । काठमाण्डौ क्षेत्र नं १ को पनि ५२ ओटा संस्थालाई सहयोग गरिरहेको मान्छे हुँ म । त्यसकारण अहिले म चिनिने भनेको विशाल नेपाल महाअभियानको राष्ट्रिय संयोजक र सुरेन्द्र ढकाल प्रतिष्ठानको अध्यक्षको ?पमा हो । त्यो भन्दा बाहेक म पत्रकार पनि हुँ । ग्रेटर नेपाल साप्ताहिक पत्रिका लामो समय देखि चलाउँदै आएको छु ।
२) यहाँको शैक्षिक पृष्ठभुमि के हो ?
मैले इटलीबाट सरकारी संगठन र व्यवस्थापनमा पीएचडी हो मेरो । युनिर्भसिटि टपर हुँ । त्यसैगरी जर्मनीबाट मास्र्टस इन एडमिनिष्ट्रेटिभ साइन्स भन्छ, प्रशासनिक विज्ञानको स्नाकोत्तर हुँ ।
३) तपाइको चुनाबी एजेण्डा के हुन् । काठमाण्डौ क्षेत्र नं १ का मतदाताले तपाइलाई भोट किन हाल्ने ?
मेरा दुई ओटा एजेण्डा छन् । एउटा भनेको संविधानको संशोधन । यो संविधानलाई देशको कमाइले धान्न सक्दैन । त्यसकारण यसको ब्यापक संशोधन आवश्यक छ । दोश्रो, अहिलेका राजनीतिक पार्टीहरुले देशलाई जहिले पनि खाने भाँडो बनाए । नेपाल जहिल्यै पनि ट्रान्सफरेन्सी इन्र्टरनेशनको रिर्पोट अनुसार संसारको सबैभन्दा ठुलो भ्रष्ट देश बनाए। अहिले आएर त नेपाल ग्रे लिष्टमा समेत परिसकेको छ, सम्पत्ति सुद्धिकरणको विषयलाई लिएर । ‘ब्लाक लिष्ट’मा पर्ने अवस्था आयो भने नेपालको पार्सपोष्ट पनि चल्दैन । नेपालीले बाहिर जान पनि पाउँदैनन् । त्यसकारण संविधानको ब्यापक संशोधन आवश्यक छ । यस्तो किसिमले संशोधन गर्नुपर्छ कि हाम्रो कमाइले संविधान अनुसार काम गर्न पाइआयेस् । अर्को ०४७ सालपछि जति उच्च पदस्थ अधिकारीहरु भए, राजनीतिक रुपमा नयाँ सम्रान्त बर्गको उदय भयो । उनीहरुको सम्पत्ति सुद्धिकरण गरेर सम्पुर्ण रुपमा राष्ट्रियकरण गर्नुपर्छ भन्ने दुईटा एजेनडा हुन् । संविधानमा के संशोधन गर्ने भन्दाखेरी जस्तो हामीलाई २६५ सदस्यीय सांसद चाहिँदैन । हामीलाई ७७ जिल्ला, ७७ निर्वाचन क्षेत्र अर्थात ७७ जना प्रत्यक्ष रुपमा निर्वाचित र २३ जना सासंद समावेशी बनाउनका लागि त्यही संसदले मनोनित गर्ने ब्यवस्था हुनुपर्छ । अर्थात १०० जनाको संसद त्यो पनि एक सदनात्मक भए पुग्छ । त्यो एउटा कुरा रह्यो । अर्को वडा सदस्यदेखि लिएर राष्ट्रपतीसम्मलाई राज्यले दालभात खानेसम्म पैसा मात्र दिने । राजनीति भनेको कुनै कमाइखाने भाँडो होइन, राजनीति सेवा हो । अहिलेको ७ प्रदेशलाई घटाएर ४ प्रदेशमा झार्ने । त्यो भनेको कोशी, बागमती, गण्डकी र कर्णाली । काठमाण्डौ उपत्यकालाई चाँही संघीय जिल्ला बनाइदिने ।
यसको आयुक्त र अन्य प्रदेशका प्रमुखहरुको प्रोटोकल बराबरी बनाइदिने । प्रदेशमा चाँही प्रदेश प्रमुख गर्भनर राख्ने, मुख्यमन्त्री नराख्ने । त्यो गर्भरनरलाई त्यँहीको जनताले नियुक्त गर्ने निर्वाचित गरेर । ४ ओटा गर्भनर र एउटा काठमाण्डौ संघीय जिल्लाको आयुक्त गरी ५ ओटालाई जनताले प्रत्यक्ष चुन्ने । अहिलेको जस्तो प्रदेश सासद नरहने । प्रदेश परिषद भनेर राखिदिने । त्यो परिषदमा प्रदेश भित्रका नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्षहरु स्वत सदस्य हुने । भनेपछि हामीलाई प्रदेश संसद पनि चाहिएन । मन्त्रालयहरुलाई चाँही मिनिष्टरीयल सिस्टमबाट विभागिय सिस्टममा ढाल्ने । विभाग चाँही बनाउने तर मन्त्रालय चाँही ६ ओटा मात्र बनाउने । उदाहरण स्वरुप अत्यावश्यक सेवा मन्त्रालय भन्यो भने गहृ विभाग, रक्षा विभाग, यातायत विभाग, संचार विभाग, खानेपानी ढल निकास विभाग, शिक्षा विभाग, स्वास्थ्य विभाग र खाद्य सुरक्षा विभाग बनाउने । अर्थात धेरै अत्यावश्यक सेवा एउटै मन्त्रालयबाट हुने बनाउने । अर्को अन्र्तराष्ट्रिय सम्बन्ध र ब्यापार मन्त्रालय भन्यो भने अहिलेको उद्योग, बाणिज्य, आपुर्ती, परराष्ट्र, वैदेशिक रोगजार र वैदेशिक साहयता यी सबै विभागलाई एक ठाउँमा राखिदिने । अर्को अर्थ सामान्य योजना मन्त्रालय भन्यो भने अहिलेको योजना आयोग, सामान्य प्रशासन मन्त्रालय, अर्थमन्त्रालय एकै ठाउँमा आउँछन । त्यसै गरेर स्रोत परिचालन र उपयोग मन्त्रालय भन्यो भने अहिलेको कृषि, जलस्रोत, वन जति स्रोतसँग सम्बन्धीत छन् एक ठाउँमा ल्याउन सकिन्छ । कृषि विभाग, जलस्रोत विभाग, सिंचाइ विभाग त्यसैमा राखिदिने । अर्थात ६ ओटा मन्त्रालयले केन्द्रमा अनि ५ ओटा मन्त्रालय प्रदेशमा राखिदिने । र, केन्द्रमा पनि प्रधानमन्त्रीले विज्ञहरुबाट मन्त्री बनाउने र सासंदलाई मन्त्री बन्न नदिने । र, प्रदेशमा प्रदेश प्रमुखले विज्ञहरुबाट मन्त्री बनाउने । त्यो गर्दा चुनाबको लागि जो चलखेल हुन्थ्यो, त्यो निस्तेज हुन्छ । अहिलेको जस्तो पैसाको खेलो हुँदैन ।
अर्को भष्ट्राचार त धेरै नै न्युनिकरण हुन्छ । किनभने यहाँ त सासंद मन्त्री हुन, मन्त्री भष्टाचार गर्न, त्यो गरेपछि ७ पुस्तालाई कमाउन पाइन्छ भन्ने सँस्कार छ । त्यो बन्द हुन्छ । अकोर्, विज्ञहरु मन्त्री भएपछि विकास निर्माण अघि बढ्छ । जस्तो भन्नौं अहिले मेलम्ची आयोजना ३० बर्षमा पनि पुरा सम्पन्न भएको छैन । ४ बर्षमा बनाउने भनिएकोे राष्ट्रिय गौरभको आयोजना फाष्ट ट्रर्याक ८ बर्षमा पनि आधा मात्र सम्पन्न भएको अवस्था छ । समय लम्बिएको मात्र छ । यो विकास प्रशासन नभएर भएको हो । वीज्ञहरु मन्त्री बनाउने, राजनीति गर्नेहरुलाई दाल, भात डुकुसम्मको ब्यवस्था राज्यले गर्ने । त्यो भयो भने जो मान्छे आफनो खुट्टाले उभिएर, कमाएर, देशलाई दिनसक्छ, उसले मात्र राजनीति गर्छ । मैले मेरो सम्पत्ति सुरेन्द्र ढकाल प्रतिष्ठानमा राखेर त्यसबाट समाजसेवा गरेको छु । म भोली सासंद भएँ भने दालभात, डुकु खाने पैसा पनि लिन्न । त्यो स्थापित गर्न म आएको हु । एकातिर संविधानको संशोधन जेनजीहरुको माग बमोजिम र अर्कोतिर उच्चस्तरीय सम्पत्ति छानबीन आयोग बनाउनु पर्छ भन्ने मेरो मत छ
४) तर स्वतन्त्र उमेदवार हुँदाखेरीमा तपाइका यस्ता महत्पुर्ण एजेन्डा कसरी कार्यान्वयन होलान् त ?
एकजना ब्यक्तिले राम्रो काम गर्यो भने उसको क्रेज चाँही नेपालभरी फैलिँदो रहेछ भन्ने त देखिइ सकियो नी । चाहे हर्क साम्पाङ्गको कुरा वा बालेनको । बालेन त अहिले खस्किदो छन् । धनगढीमा गोपी हमालको कुरा गरौं । एक जना मान्छे राम्रो भयो भने त उसले भोली आफनो विचार र संगठनलाई राष्ट्रिय स्तरमा उठाउँदो रहेछ भन्ने त देखियो नि । म आफै पनि उदाहरण किन नबनौं । म साइकल चढेर किन हिँडछु भन्दा म डिजेल, पेट्रोल पाल्दीन । म देशलाई दिनुपर्छ भनेर हिँडछु । म पनि युरोपको कुनै युनिर्भसिटि टपर हो । आठ क्लासे मान्छे होइन । म देशलाई दिन खोजेको छु । मेरो योग्यता पनि छ । अनुभव भन्ने हो भने ४–४ ओटा मन्त्रालयमा कन्सल्ट्याट भइसकेँ । युनिसेफको कन्सल्ट्याट भएर नेपालको बालबालिका सम्बन्धी रिर्पोट लेख्ने मै हुँ । गलैँचा सम्बन्धी उच्चस्तरीय आयोगको विज्ञ सदस्य भएर काम गरेको छु । श्रम मन्त्रालयको वीज्ञ टोलीको मै हुँ । नेपालमा बायो टेक्नोलोजी सम्बन्धी उच्चस्तरीय सम्भाब्यता अध्ययन टोलीको सदस्य पनि म नै हुँ । भन्या मतलब मैले मन्त्रालयहरुको सल्हाकार भएर काम गरिसकेको छु । राष्ट्रिय अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको प्रमुख भएर काम गरिसकेको छु । भन्दाखेरी मेरो अनुभव पनि छ र योग्याता पनि छ । फेरी म देशबाट लिन होइन, देशलाई दिनका लागि प्रतिष्ठान बनाएर अघि बढेको छु । यी कुराहरु कसले सुनिदिने ? जव मेरा यी कुरा सबैले सुन्छन् र मनन गर्छन् त्यसपछि त देशका लागि काम गर्ने ठाउँमा पुग्न सकिएला । त्यो अवस्थामा म देशलाई दिने मान्छे मात्र एक ठाउँमा आउ है, पारदर्शी र प्रोफेसनल मान्छे मात्र एक ठाउँमा आउँ है, सादगी मान्छे मात्र एक ठाउँमा आउ है भन्छु नी त म ।
५) अन्त्यमा, मतदातालाई के भन्नुहुन्छ ?
मैले पर्दाखेरी सबैलाई सहयोग गरेको छु । हिजो एमालेमा बहुदलीय जनबादको अँग्रेजीमा अनुबाद गर्ने मान्छे मै हुँ । मदन भण्डारीको अँग्रेजीमा अन्र्तवार्ता पहिलो छाप्ने पनि मै हुँ । पछि उनीहरुको विदेश विभागमा बसेर अँगे्रजी पत्रिका छापाइदिने पनि मै हुँ । काँगे्रसलाई परेको बेला बालबालिका सम्बन्धी रिर्पोट युनिसेफको लागि मन्त्रालयमा बसेर लेख्ने पनि मै हुँ । विभिन्न पार्टीहरुलाई मैले सहयोग गरेको छु । तर अहिले म के निष्कर्षमा पुगे भने पार्टीहरुले अव देश चलाउने अवस्था रहेन । पुराना पार्टी पनि काम नलाग्ने भए, नयाँमा हर्क साम्पाङ्गको श्रम सँस्कृति पार्टी बाहेक अरुमा आशालाग्दा छैनन् । कोही गाइ काटेर खान पाउँ भन्ने खालका छन् कोही सहकारी ठगका पार्टी छन् । पुराना भ्रष्टहरु भईगए । कोही एमसिसिका दलाल भए । त्यसकारण पनि म आफै स्वतन्त्र भएर चुनाबी मैदानमा करौती चिन्ह लिएर काठमाण्डौ क्षेत्र नं १ मा उठेको छु । म सफल भएँ भने त मेरा कुरा पनि त सुन्लान् । मेरा योजना पनि त लागु हुने दिन आउला । विशाल नेपाल चाहने राष्ट्रबादी, सक्षम, सादगी, स्वार्थरहीत मान्छे, देशलाई दिने मान्छे भएकाले जनताले अधिकतम भोट दिएर यसपटक जिताउँछन् भन्ने लाग्छा छ ।