
सुनाखरी न्युज/ काठमाडौं ।
खोटाङमा बिहेको भोज खाएकाहरू बिरामी परेका छन् । जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङमा बिहे भोज खाएका करिब साढे एक सय जना बिरामी परेका हुन् ।भोज खाएपछि ‘फुडपोइजन’ भएको आशंका छ ।गत माघ २१ गते आयोजित विवाह समारोहमा सहभागी भएका पाहुना र स्थानीय बासिन्दाहरूमा सामूहिक रूपमा स्वास्थ्य समस्या देखिएको हो ।
बिरामीको सङ्ख्या अत्यधिक बढेपछि गाउँपालिकाले दिप्लुङकै निगालावास भञ्ज्याङस्थित रामकुमार राईको घरमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गरी उपचारको प्रबन्ध मिलाएको छ । माघ २१ गते भोज खाएका व्यक्तिहरूमा २२ गते बेलुकादेखि बिरामीको लक्षण देखिन थालेको थियो । बिरामी परेकाहरूमा सुरुमा उच्च ज्वरो आउने, काम छुट्ने र लगातार झाडापखाला लाग्ने समस्या देखिएको गाउँपालिका उपाध्यक्ष खेम खड्काले जानकारी दिनुभयो ।
उपाध्यक्ष खड्काका अनुसार भोजमा सहभागी भएका बेहुला र बेहुलीसमेत बिरामी परेका छन् । यस्तै, भोज खाएर उदयपुर र काठमाडौँ फर्किएका पाहुनाहरूमा समेत यस्तै समस्या देखिएको खबर प्राप्त भएको छ । बिरामीको चाप बढेपछि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी, जिल्ला स्वास्थ्य कार्यालय र जनप्रतिनिधिहरूको टोली खटिएको छ । “भोज खाएका लगभग सबै स्थानीय बिरामी परेका छन्, केहीको अवस्था गम्भीर छ,” उपाध्यक्ष खड्काले भन्नुभयो ।
हाल ३५ जना बिरामीलाई स्लाइन र जीवनजल सहितका औषधि दिएर शिविरमै उपचार भइरहेको छ भने अन्य बिरामीहरू उपचारपछि घर फर्किएका छन् । उपचारका लागि थप औषधि र जनशक्ति जिल्ला स्वास्थ्य कार्यालयबाट मगाइएको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन प्रदेशबाट विशेषज्ञ टोली मगाइएको छ । स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलका अनुसार बिरामीहरूले खाएको खाना वा पानीमा समस्या थियो भन्ने बुझ्न प्रयोगशाला परीक्षणका लागि ‘स्याम्पल’ सङ्कलन गर्ने तयारी भइरहेको छ । अहिले गाउँभरि नै चिसो र बिरामीको प्रकोप देखिएकाले स्थानीय बासिन्दा त्रसित बनेका छन् ।