
सुनाखरी न्युज/ काठमाडौं ।
चामल र तेलमा मूल्यवृद्धि भएको भन्दै उपभोक्ताले गुनासो गरेपछि वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले मूल्य समायोजन गर्न निर्देशन दिएको छ ।
हरेक १५ दिनमा परिवर्तन हुने नेपाल खुद्रा व्यापार संघको मूल्यसूचीले चामल र तेलको मूल्य बढेको देखाउँछ । संघले हरेक १५ दिनमा एक पटक मूल्यसूची अद्यावधिक गर्दै आएको छ । संघको वेबसाइटमा सार्वजनिक मूल्यसूचीमा त्रिशूली पोखरेली चामल प्रतिकिलो ७५ रुपैयाँ थियो, अहिले प्रतिकिलो ९० रुपैयाँ पुगेको छ ।
भुटेको तोरीको तेल प्रतिलिटर २ सय ७० रहेकामा अहिले ३ सय ५० रुपैयाँ पुगेको संघको मूल्यसूचीमा उल्लेख छ । भटमास तेल प्रतिलिटर १ सय १५ रुपैयाँ रहेकामा अहिले २ सय २० रुपैयाँ र सनफ्लावर तेल लिटरको १ सय ४० रुपैयाँ रहेकामा २४० रुपैयाँ पुगेको छ ।
पछिल्लो एक महिनादेखि चामल र तेलको मूल्यवृद्धि भएको संघका महासचिव अमुलकाजी तुलाधारले स्विकारे । चुनाव नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको उपभोक्ताको भनाइ छ ।
यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तु खाने तेल, ग्यास, चामललगायत अत्यावश्यक वस्तुको स्वाभाविक मूल्यवृद्धिलाई समायोजन गरी उपभोक्तालाई राहत दिन उत्पादकहरूलाई निर्देशन दिएको छ । विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै खाद्यान्न तथा तेल उत्पादक, प्रमुख पैठारीकर्ता र वितरकलाई बोलाई अनुचित नाफा नलिई आफ्ना वस्तु वा सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्न विभाग सधैं प्रयत्नशील र प्रतिबद्ध विभागले जनाएको छ । उपभोक्तालाई अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, बिक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवं प्रतिष्ठानमा निरन्तर रूपमा अन्य सक्षम निकायको समेत सहयोग लिई संयुक्त अनुगमन गरी बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउने गरी कार्यसम्पादन गरिरहेको विभागले भनेको छ । कानुनविपरीतका कार्य गर्ने केही फर्मलाई कानुनबमोजिम दण्ड जरिवानासमेत गरिने विभागको चेतावनी छ ।