२०८२ फाल्गुन २२ , शुक्रवार

६ महिनामा सरकारको ४६ प्रतिशत खर्च, पुँजीगत खर्च ११.६६ प्रतिशतमा सिमित

mof

सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले कुल बजेट विनियोजनको ४६ प्रतिशत मात्र खर्च गरेको छ। यो अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा १०।७५ प्रतिशतले बढी हो। चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट छुट्याएको थियो। अर्थ मन्त्रालयको तथ्यांकअनुसार पुस मसान्तसम्म ९ खर्ब ४ अर्ब ६४ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ।

 

यस आर्थिक वर्षमा सरकारले पुँजीगत शीर्षकमा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको थियो। पहिलो ६ महिनामा पुँजीगत ४७ अर्ब ५४ करोड पुँजीगत खर्च भएको छ। यो वार्षिक लक्ष्यको ११.६६ प्रतिशत हो। यस अवधिमा पुँजीगत खर्च भने अघिल्लो वर्षको तुलनामा ४।८६ प्रतिशतले घटेको छ।

चालु शीर्षकअन्तर्गत यस वर्ष ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएकोमा पुससम्म ४०.८२ प्रतिशत अर्थात् ४ खर्ब ८२ अर्ब १० करोड ८० लाख रुपैयाँ खर्च भएको छ। गत वर्षको सोही अवधिको तुलनामा चालु खर्च ३.३५ प्रतिशतले बढेको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक प्रगति विवरणमा बजेट कार्यान्वयन, राजस्व संकलन, कानुनी सुधार, वित्तीय संघीयता र प्रशासनिक व्यवस्थापनसम्बन्धी विस्तृत प्रगति विवरण सार्वजनिक गरेको छ। राज्यकोष व्यवस्थापन, निर्वाचन खर्च व्यवस्थापन, राजस्व प्रशासन सुदृढीकरण तथा सुशासन प्रवर्द्धनमा मन्त्रालयले जोड दिएको उल्लेख गरिएको छ।