
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाले घर वहाल नतिरेका ८ वटा सहकारी संस्थालाई आफ्नो कार्यालयको घर कोठा खाली गर्न अल्टिमेटम दिएको छ । महानगरपालिकाले ती सहकारी संस्थालाई ७ दिनभित्र घरवहाल तिर्न र आवश्यक कारबाहीको पालना गर्न सार्वजनिक सूचना मार्फत चेतावनी दिएको हो । तोकिएको समयमा घर खाली नगरे काठमाडौँ महानगरपालिकाले कानुन अनुसार आवश्यक कारबाही गर्ने चेतावनी दिएको छ।
आशा बचत तथा ऋण सहकारी संस्था, नव सबल सहकारी, युनिफाइड्स बचत तथा ऋण सहकारी संस्था, महाबौद्ध बचत तथा ऋण सहकारी संस्था, ग्रेट गंगासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, प्रारम्भिक बचत तथा ऋण सहकारी र ग्रेट गंगासागर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई महानगरले अल्टिमेटम दिएको हो ।
यस क्रममा त्यहाँ रहेका फर्निचर, कम्प्युटर लगायतका कार्यालयका सामानहरू घरधनीको जिम्मामा पर्नेछन्। नाम सार्वजनिक गरिएका सहकारीहरूमा वडा नं. ३१ को आशा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वडा नं. ६ का नव सवल र सन्दुप सहकारी संस्था लिमिटेड, सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, वडा नं. १७ को युनिफाइड बचत तथा ऋण सहकारी संस्था, वडा नं. २२ को महाबौद्ध बचत तथा ऋण सहकारी संस्था, वडा नं. ३२ को ग्रेट गंगासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र वडा नं. १० को प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्।
महानगरपालिकाका अनुसार यी सहकारी लामो समयदेखि भाडा नतिरी कार्यालयमा ताला लगाएर सञ्चालकहरू फरार भएपछि घरधनीहरूबाट निवेदन प्राप्त भइरहेका थिए र प्राप्त निवेदनको आधारमा फिर्स्योट प्रक्रिया अगाडि बढाउँदै सार्वजनिक सूचना जारी गरिएको हो।