
सुनाखरी न्युज/ काठमाडौं ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिने ४० वर्षीय डिकबहादुर राउत छन् । उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।विमानस्थल प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान करिब ७ : ३० बजे डस्टबिनमा जम्मा गरिएको फोहोरको प्लास्टिक थैलोबाट सुन निकाल्दै गरेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालका अनुसार राउत सगरमाथा सर्भिस प्रालिमार्फत विमानस्थल सरसफाइमा कार्यरत कर्मचारी हुन्। उनको साथबाट ४ दशमलव ४ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनी १५ वर्षभन्दा लामो समयदेखि विमानस्थलभित्र काम गर्दै आएका थिए। पक्राउ परेका कर्मचारीलाई आवश्यक अनुसन्धानका लागि भन्सार विभागमा जिम्मा लगाइएको विमानस्थल प्रहरीले जनाएको छ।