२०८२ फाल्गुन २२ , शुक्रवार

के हो निपाह भाइरस, कस्तो हुन्छ जोखिम, कसरी बच्ने ?

nipha-virus-e1769929429249

 

सुनाखरी न्युज/ काठमाडौं।

भारतको पश्चिम बंगालमा फैलिरहेको निपाह भाइरसको जोखिममा उच्च रहेको भन्दै सर्तक रहन विज्ञहरुले सुझाएका छन् । नेपाल उच्च जोखिममा रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्राललय स्वास्थ्य विपद् तथा आपतकालिन केन्द्रले सीमानाका, स्वास्थ्य संस्था र अस्पताल सवैलाई उच्च सतर्कतामा राखेको जनाएको छ ।छिमेकी मुलुक भारतको पश्चिम बंगालको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु निपाह भाइरस संक्रमित भई उपचाररत रहेको सार्वजनिक भएको छ । सम्भवतः रोग निदान वा उपचार गर्दा सुरक्षा कवचको प्रयोग नगरेको हुनसक्छ । खुला सिमाना भएका कारण सीमापारि संक्रमण भएको पुष्टि हुँदा सीमावारि पनि गम्भीर चासो बन्नपर्छ र बनेको पनि छ । उच्च घातक भाइरस निपाह प्यारामिक्सोभिरिडी परिवार अन्तर्गतको हेनिपाभाइरस हो । मलेसियामा सुंगुरपालक किसानहरुमा सन् १९९९ मा पहिलो पटक यो भाइरस फैलिएको थियो र संक्रमितमध्ये ४० प्रतिशतको मृत्यृ भएको थियो । छिमेकी मुलुक भारत र बंगलादेशमा सन् २००१ मा निपाह भाइरस संक्रमण पुष्टि भएको हो । त्यसपछि हरेक वर्ष जस्तो संक्रमण र मृत्यृदर ७० देखि १०० प्रतिशत भएको तथ्यांक छ । नेपालमा देखिएको छिमेकी देशभन्दा फरक नहुन सक्छ ।

लक्षणहरु

भाइरस संक्रमण भएको चार देखि १४ दिनमा लक्षण देखिन्छ । ढिलोमा ४५ दिनपछि लक्षण देखेको पनि पाइएको छ । ज्वरो आउने, टाउको दुख्ने, स्वास प्रस्वासमा समस्या हुने, मांशपेशी दुख्ने, घाँटी दुख्ने, बान्ता हुने, चक्कर लाग्ने र चेतनामा समस्या हुने हुन्छ दुई हप्तासम्म । त्यसपछि संक्रमितमा निमोनिया, अन्य कडा स्वासप्रस्वाससम्न्धी समस्या तथा इन्सेफ्लाइटिस– मस्तिष्कको सुुजनका लक्षणहरु देखिन्छ । गम्भीर लक्षण देखिएको २४ देखि ४८ घण्टाभित्र बिरामी अचेत अर्थात कोमा अवस्थामा जानसक्छ । मृत्यृदर ४० देखि ७५ प्रतिशत छ । उपचारपछि निको भएका करिब २० प्रतिशत बिरामीमा दीर्घकालीन स्नायुसम्बन्धी समस्या हुनेगर्छ । सिडिसीका अनुसार हालसम्म संक्रमित भएका तीन सयमा एक सय जतिको मृत्यृ भएको छ । निपाह कोभिड १९ भन्दा कम संक्रामक ०।५ दर तर बढी घातक ७५ प्रतिशत छ । संक्रमण जापानीज इन्सेफलाइटिस वा अन्य फ्लू र संक्रमणहरुसँग पनि मिल्न सक्छ, तसर्थ भ्रमण इतिहास जरुरी छ । निश्चित निदान भने प्रयोगशाला परीूक्षणबाट गरिन्छ । संक्रमितको रगत, पिसाब, ढाडको पानी वा नाक तथा घाँटीको स्वाबबाट पीसीआर वा एलाइजा प्रविधिबाट भाइरसको पुष्टि गरिन्छ । भाइरस उच्च घातक भएकाले बायो सेफ्टीस्तर ४ को प्रयोगशाला र जनशक्ति जरुरी छ ।

उपचार

हालसम्म यस भाइरसबिरुद्ध विशेष एन्टिभाइरल औषधि वा खोप विकास भइसकेको छैन । उपचार लक्षणका आधारमा लाक्षणिक गरिन्छ । प्राथमिक उपचारमा आराम गर्ने, जतिसक्दो बढी झोलिलो वस्तु खाने र लक्षण अनुसारको औषधिउपचार नै हो । कोरोना भाइरसको तुलनामा निपाह भाइरससम्बन्धी जनचेतना ज्यादै कम छ, जसले रोकथाम, निदान र उपचारमा कठिनाइ छ । कम संक्रमण गराउन संक्रमितसँगको भेटघाट निषेध गर्ने, निरन्तर हात साबुनपानीले धुने तथा मास्क लगाउने गर्नुपर्छ ।

रोकथाम

गाई, सुंगुरका खोरहरु सफाइ र संक्रमणमुक्त गर्ने, संक्रमितलाई क्वारेन्टिनमा राख्ने, संक्रमितहरुको स्याहार तथा उपचारमा संलग्न हुनेले संक्रमण रोकथाम तथा नियन्त्रणको मापदण्ड पालना गर्नूपर्छ । संक्रमित ब्यक्तिसँगको नजिक सम्पर्क र पीपीईबिनाको सम्पर्क नगर्ने, संक्रमितलाई भेट्ने वा स्याहार सुसार गर्नेले नियमित साबुनपानीले हात धुने गर्नुपर्छ । स्वासप्रस्वास अर्थात ड्रपलेट वा हावाबाट सर्नेलाई रोक्न मास्क लगाउने, दक्ष जनशक्ति, उपयुक्त सरसामान र उपकरणको प्रयोग अनिवार्य छ । खानुभन्दा पहिले राम्रोसँग फलफूल सफा गर्ने, राम्रोसँग पाकेको सागपात, फलफूल मात्र खाने गर्नुपर्छ । पञ्जा र मास्क लगाएर मात्र जनावरको काटमार, मासु पकाउने, उमालेको पानी मात्र खाने, पटक–पटक साबुनपानीले हात धुने गर्नुपर्दछ । भीडभाडमा नजाने र जानैपरे जनस्वास्थ्यको मापदण्ड पालना गर्नसके मात्र रोगको रोकथाम, संक्रमण फैलावट र गाम्भीर्यता कम गर्न सकिन्छ ।