
सुनाखरी न्युज/ काठमाडौं।
विदेशमा रोजगारीको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं १९ लामाचौरकी ३४ वर्षीया कल्पना नहर्की पौडेल र मुगुको खप्तड गाउँपालिका वडा नं ११ स्थायी ठेगाना भई हाल पोखरा- ६ बस्दै आएका २८ वर्षीय बीरेन्द्र रावत छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सामाजिक सञ्जाल फेसबुकमार्फत कुराकानी गरी आफू कानून व्यवसायी भएको श्रीमान् पोल्याण्डमा होटल सञ्चालन गरिरहेको र विदेशमा होटल तथा विभिन्न कम्पनीमा नेपाली कामदारको माग रहेको भन्दै विश्वास दिलाई ठगी गरिएको हो।
आरोपीहरूले किचन हेल्पर, कटिङ, फुड प्याकिङ, चालक, म्यानेजर लगायतका पदमा विदेश पठाइदिने आश्वासन दिँदै ११ जनाबाट १० हजारदेखि २ लाख रुपैयाँसम्म रकम उठाई जम्मा १४ लाख ६० हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ।पौडेलले आफू कानून व्यवसायी भएको र श्रीमान् पोल्याण्डमा होटल सञ्चालन गरिरहेको भन्दै पीडितसँग रकम माग गरेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको डिएसपी बस्नेतले जानकारी दिए ।