
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उदयपुर सिमेन्ट कम्पनी लिमिटेडको महाप्रबन्धक भएका बखत अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित कम्पनीका तत्कालीन पदाधिकारी तथा कर्मचारीसहित ८ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
पौडेलविरुद्ध १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ ११ पैसा बिगो मागदाबी गरी बिगोबमोजिम जरिवाना, कैद सजाय मागदाबी लिइएको छ ।
२० भदौ २०८२ मा पौडेललाई तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले पुनर्बिमा कम्पनीको अध्यक्षमा ४ वर्षका लागि नियुक्ति गरेका थिए ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार कम्पनीका तत्कालीन महाप्रबन्धक पौडेलसहित तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह, नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद साह, तत्कालीन क्लिंकर उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरिप्रसाद अधिकारी र बिक्री विभाग प्रमुख रामबहादुर जीसीविरुद्ध मुद्दा दायर भएको हो ।
प्रतिवादी बनाइएका कम्पनीका तत्कालीन महाप्रबन्धक पौडेल पछिल्लो पटक केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका विष्णुप्रसाद पौडेलले २० भदौ २०८२ मा पुनर्बिमा कम्पनी अध्यक्षमा ४ वर्षका लागि नियुक्ति दिएका थिए । नियुक्तिको ५ महिना नपुग्दै पुरानो भ्रष्टाचार प्रकरणमा उनीविरुद्ध मुद्दा दायर भएको हो ।
अख्तियारले उदयपुर सिमेन्टकै तत्कालीन निमित्त नायब महाप्रबन्धक साहविरुद्ध ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रुपैयाँ, काफ्लेविरुद्ध १२ करोड ६३ लाख ६९ हजार १ सय ६८ रुपैयाँ तथा लाल, साह, अधिकारी र जीसीविरुद्ध जनही ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रुपैयाँ बिगो मागदाबी गरी बिगोबमोजिम जरिवाना, कैद र हिनामिना भएको रकम असुलउपरको दाबी गरी बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबी लिएको छ । मुद्दा दायर भएसँगै पौडेल बिमा अध्यक्षबाट निलम्बनमा परेका छन् ।
सिमेन्ट उत्पादनका क्रममा क्लिंकरको खपत बढी भएको तर उत्पादन घटी देखाएर पदाधिकारी तथा कर्मचारीले मिलेमतोमा बिक्रीबापतको रकम हिनामिना गरेको उजुरीपछि अख्तियारले अनुसन्धान गरेको थियो । आव २०७४र७५ पछिका विभिन्न आवमा कम उत्पादन देखाएर मिलेमतोमा सरकारी सम्पत्ति हिनामिना गरेको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।
बनेका थिए ।