
सुनाखरी न्युज/ काठमाडौं ।
माघ २३ गते स्वदेशमा प्रदर्शन हुने फिल्म ‘कुमारी’ अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूमा पनि प्रदर्शन हुने भएको छ । निर्माता महेन्द्र अधिकारीले यी देशको फिल्मको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिए । फिल्म अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो, क्यानडामा मेरो इभेन्ट्स तथा मध्यपूर्वका देशहरूमा नेपफिल्मले प्रदर्शन गर्न लागेको हो ।
फिल्मको ट्रेलरले पाएको सफल प्रतिक्रिया र दर्शकको उत्साहपछि अन्य देशहरूबाट समेत प्रदर्शनका लागि माग आइरहेको निर्माता अधिकारीको भनाइ छ । काठमाडौँको भृकुटीमण्डपमा फिल्मको ट्रेलर सार्वजनिक भएको थियो । दिनेश राउत निर्देशित फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन् । उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा लगायत कलाकारहरूको अभिनय छ ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् । छायाङ्कन सुसन प्रजापति, सम्पादन र कलर ग्रेडिङ सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । फिल्मको कार्यकारी निर्माता केदार भुसाल हुन् ।