
सुनाखरी न्युज/ काठमाडौं ।
सबैजनाले आफ्नो शरीरमा कति चिनी खपत भइरहेको छ भनेर थाहा पाउन महत्त्वपूर्ण छ। तपाईँले आफूले महसुस गरेभन्दा धेरै खाइरहनुभएको हुनसक्छ – र धेरै चिनी खपत गर्दा टाइप टु डाइबिटिज, मुटुरोग र क्यान्सर हुने जोखिम उच्च रहन्छ। विगत केही दशकमा संसारभरि नै आहार धेरै परिवर्तन भएको छ र यो सँगै मोटोपना र मधुमेहको समस्या पनि तीव्र रूपमा वृद्धि भएको छ। द ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित तथ्याङ्क अनुसार सन् २०५० सम्ममा वयस्कमध्ये आधाभन्दा धेरै र एक तिहाइ बालबालिका, किशोरावस्थाका र नवयुवाहरूमा बढी वजन वा मोटोपना देखिनेछ।
धेरै देशका स्वास्थ्य प्रणालीहरू यो सँग जुझ्न सङ्घर्ष गरिरहेका छन्। सन् २०५० सम्म नेपालका वयस्कमध्ये ५२ प्रतिशतभन्दा बढी पुरुष र ४७ प्रतिशतभन्दा बढी महिलामा मोटोपनको समस्या देखिने अध्ययनले औँल्याएको छ। हाम्रो वजन ठिक राख्न हामीले सामना गर्ने एउटा महत्त्वपूर्ण चुनौती भनेको हामीले खाने खानेकुरामा नदेखिने चिनीको मात्रा धेरै हुन्छ। चाहे त्यो दहीमा होस् वा पाउरोटी वा सलादमा राखिने ड्रेसिङदेखि केचअप र स्मुदीहरूमा नै किन नहोस्।
फ्री सुगर भनेको के हो ?
गुलिया दही, ग्रनोला र फलफूलको जुस सुन्दा स्वस्थकर बिहानी खाजाजस्तो लाग्छ। तर तपाईँले कुन चाहिँ छान्नुभएको हो भन्नेमा भर पर्छ। विश्व स्वास्थ्य सङ्गठन ( डब्ल्यूएचओ ) ले दिनभरिका लागि सुझाएको भन्दा बढी चिनी तपाईँलेमध्ये कैयौँले बिहानै खपत गरिसक्नुभएको पनि हुन सक्छ। यूकेको न्याश्नल हेल्थ सर्भिसका अनुसार प्रति दिन वयस्कहरूले ३० ग्रामभन्दा धेरै चिनी खानुहुँदैन। खानेकुरा वा पेय पदार्थमा प्रशोधनका बेला प्रयोग गरिएको “फ्री सुगर” देखि प्राकृतिक रूपमा मह, सिरपलगायतमा हुनेसम्म सबै चिनीलाई त्यसमा समावेश गर्नुपर्छ। त्यो फलफूलका जुसमा पनि हुने गर्छ।
खानेकुरामा चिनी कसरी रहेको छ भन्नेमा तपाईँको शरीरले कसरी चिनी प्रशोधन गर्छ भन्ने कुरा भर पर्छ। उदाहरणका लागि जब तपाईँ पूरै फलफूल वा तरकारी खानुहुन्छ भने त्यसमा भएको फाइबरले तपाईँको पाचनलाई सुस्त बनाउँछ र त्यसले चिनीको मात्रा रगतमा उच्च बन्नबाट जोगाउँछ। यद्यपि, यदि तपाईँले मिसाइएको चिनी वा फ्री सुगर खानुहुन्छ भने त्यो तपाईँको रगतमा छिट्टै प्रवेश गर्छ – र धेरै मात्रामा जान्छ – त्यसले तपाईँको रगतमा चिनीको मात्रा ह्वात्तै बढाइदिन्छ। फलफूल वा तरकारीको जुस पिउँदा पनि त्यस्तै हुन्छ किनभने जुस बनाउँदा फलफूल र तरकारीमा भएका लाभदायी फाइबर त्यसबाट निकालिन्छ।
समयसँगै जब यसरी रगतमा चिनीको मात्रा ह्वात्तै बढ्ने क्रम भइरहन्छ अर्को समस्या के देखिन्छ भने होर्मोन इन्सुलिनमा कोशिकाहरूले कम प्रतिक्रिया जनाउन थाल्छन्। प्रशोधित खानेकुराको वृद्धिका कारण पनि अघिल्लो पुस्ताको तुलनामा हाम्रो आहारमा चिनीको धेरै हिस्सा बढेको हो। तपाईँले चिनी वा नुन नहोला भन्ने ठानेका मासु र माछामा पनि स्वादिलो बनाउन वा लामो समयसम्म टिकाउन चिनी वा नुन राखिएको हुन्छ। अति प्रशोधित खानेकुरामा त चिनीको मात्रा अझ धेरै हुन्छ। यस्ता प्रकारका खानाहरू उद्योगमा प्रशोधित गरिएका हुन्छन् र त्यसमा थुप्रै जटिलखाले सामग्रीहरू राखिएका हुन्छन्। यदि कुनै उत्पादनमा पाँचभन्दा बढी सामग्रीहरू राखिएका छन् भने ती खानेकुरा अतिप्रशोधित भएको हुनसक्ने सम्भावना उच्च हुन्छ। सामग्रीमा के के राखिएका छन् भनेर पनि आँखा लगाउन सकिन्छ जस्तै हाइ- फ्रुक्टोज कर्न सिरप, फ्रुटजुस कन्सन्ट्रेट, मह सबै चिनीकै वैकल्पिक नाम हुन्। त्यसैले मिल्कशेक वा पास्ता ससमा तपाईँले दिनभरि खान मिल्ने भन्दा बढी चिनीको मात्रा हुन सक्छ।
विश्वको सबैभन्दा चिनी भएको मनपर्ने खानेकुरा
विश्वव्यापी रूपमा चिनी हाम्रो स्वास्थ्यका लागि खराब भन्ने जनचेतना बढेको भए पनि हामीले दैनिक विगतमा कहिल्यै नखाएको मात्रामा चिनी खाइरहेका छौँ। विश्वव्यापी स्वास्थ्य निकायहरूले प्रतिव्यक्ति धेरै चिनी खाने देशमा अमेरिका रहेको बताएको छ तर भारत, चीन, पाकिस्तान र इन्डोनेशियामा पनि खपत गर्नेको सङ्ख्या वृद्धि भइरहेको छ। यदि विश्वव्यापी रूपमा मोटोपनाको प्रवृत्तिले निरन्तरता पाउने हो भने सन् २०५० सम्ममा मोटोपना वा अतिवजन हुने महिलाको सङ्ख्या ६०।३ प्रतिशत र पुरुषको ५७. ४ प्रतिशतले वृद्धि हुने द ल्यान्सेटमा प्रकाशित तथ्याङ्कले देखाउँछ। उक्त तथ्याङ्कमा २०० भन्दा बढी देश समेटिएका थिए।
२५ वर्षमा चीन, भारत र अमेरिकामा मोटोपना र अति वजन हुने जनसङ्ख्या ६२ करोड ७० लाख, ४५ करोड र २१ करोड ४० लाख पुग्ने अनुमान गरिएको छ। यसले ती देशहरूको राष्ट्रिय स्वास्थ्य प्रणालीहरूमा उल्लेख्य दबाव पार्ने छ। सब साहारा अफ्रिकामा पनि अतिवजन हुने वा मोटोपना हुने मानिसको सङ्ख्या २५० प्रतिशतले बढाएर ५२ करोड २० लाख पुग्ने छ। खासगरी नाइजेरियामा अतिवजन र मोटोपना हुने मानिसको सङ्ख्या सबैभन्दा धेरै हुने र तेबरले बढ्ने अनुमान गरिएको छ। तर हामीले यो सङ्कटबाट नियन्त्रण पाउन र आफ्नो भविष्यको स्वास्थ्य राम्रो बनाउन गर्न सकिने कुराहरू छन्।
सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अमेरिकामा उदाहरणका लागि ६३ प्रतिशत वयस्कहरूले दैनिक रूपमा गुलियो पेय पदार्थ पिउने गरेका छन्। यी पेय पदार्थ, मिठाइ, अतिप्रशोधित खानेकुरा नखाँदा त्यसले स्वास्थ्यमा ठूलो सुधार ल्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले एडेड सुगर दैनिक खपत गर्ने क्यालोरीको १० प्रतिशतभन्दा कम गर्न वा अधिकतम स्वास्थ्यका लागि पाँच प्रतिशतभन्दा कम गर्न सुझाएको छ। त्यो भनेको दैनिक करिब ६ चम्चा चिनी हो जसमा सबैप्रकारका चिनी मिसिएका खानेकुराहरू पर्छन्। डब्ल्यूएचओले चाहिनेभन्दा वजन धेरै छ कि छैन भनेर पनि आफ्नो बडी इन्डेक्स मासमा ध्यान दिन सुझाएको छ।