
सुनाखरी न्युज/ काठमाडौं ।
देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा रहेका हुन् ।
यस्तै, अछाम, अर्घाखाँची, बा।रा, डडेल्धुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्युठान, सिन्धुली र उदयपुर भने मध्यम जोखिममा छन् । प्राधिकरणले वन डढेलो पूर्वानुमान, निगरानी तथा चेतावनीलाई प्रभावकारी बनाउने, पूर्वतयारी र वन व्यवस्थापनका उपायलाई अवलम्बन गरी वन डढेलोको जोखिम कम गर्ने कार्ययोजना तय गरेको छ ।
सङ्घ, प्रदेश, तथा स्थानीय तहका जिम्मेवार निकाय तथा सरोकार भएकाहरूका बीचमा समन्वय गरी डढेलो नियन्त्रणका प्रयासलाई थप प्रभावकारी र परिणाममुखी बनाउने प्राधिकरणले कार्ययोजना तय गरेको छ । वन डढेलो नियन्त्रण गरी जनधन तथा पर्यावरणीय स्रोतको हानिनोक्सानी न्यूनीकरण गर्नु कार्ययोजना तय गरिएको छ ।
जनचेतना अभिवृद्धि तथा नियमनलाई प्रभावकारी बनाई वन डढेलोको जोखिमबारेको बुझाइलाई स्पष्ट पार्ने रणनीति तय गरिएको छ । वन डढेलोको आँकलन, वन क्षेत्र एवं वनजन्य इन्धन व्यवस्थापन गरी आगलागीको जोखिम न्यूनीकरण गरिनेछ । मौसम पूर्वानुमान एवं पूर्वसूचनालाई सुदृढ र सबल बनाई वन डढेलोजन्य विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने रणनीति तय गरिएको छ ।