२०८२ फाल्गुन २२ , शुक्रवार

स्वास्थ्य बीमामा व्यापक दुरुपयोग भयो , कडाइ गर्छौ : स्वास्थ्यमन्त्री

sudha-gautam

 

सुनाखरी न्युज/ काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा। सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम कोषको ठूलो दुरुपयोग भएको बताएकी छन् ।

आफ्नो तीन महिने कार्यकालको प्रगति सार्वजनिक गर्दै उनले प्रति परिवार वार्षिक एक लाख रुपैयाँको सीमित रकम जथाभावी रूपमा सक्ने नियतले अनावश्यक स्वास्थ्य जाँच तथा उपचार गराइएको र सेवा प्रदायक संस्थाहरूले गलत नियतले पैसा असुल्ने गरेको पाइएको बताइन् ।

यसलाई रोक्न तत्काल कडा उपायहरू लागु गर्ने उनको भनाइ छ ।

 

मन्त्री गौतमले बीमा कार्यक्रमको वित्तीय असन्तुलनलाई प्रमुख समस्या भएको बताइन् ।

प्रिमियम संकलनभन्दा दाबी बढी हुने, समयमै भुक्तानी नहुने, अनावश्यक सेवा उपभोग (मोरल हेजर्ड), उच्च जोखिम भएकाको बढी सहभागिता (एडभर्स सेलेक्सन), कमजोर दाबी व्यवस्थापन, संगठित क्षेत्रको न्यून सहभागिता तथा बोर्डको आन्तरिक क्षमता अभाव जस्ता चुनौतीहरू रहेको उनको भनाइ छ ।

 

यी समस्यालाई सम्बोधन गर्न मन्त्रालय र स्वास्थ्य बीमा बोर्डले संयुक्त राष्ट्रिय कार्यशाला आयोजना गरी १९ वटा प्रमुख कार्यबिन्दुमा आधारित कार्ययोजना तयार पारेको उनले बताए ।

मन्त्री गौतमले नागरिक पनि यसबारे जिम्मेवार बन्नुपर्ने बताइन् ।