
सुनाखरी न्युज/ काठमाडौं ।
१९७१ को भारत–पाकिस्तान युद्धको पृष्ठभूमिमा बनेको बोर्डर २ केवल एउटा युद्ध चलचित्र मात्र होइन, भारतीय सेनाको साहस, बलिदान र टोलीभावनाको कथा हो।सन् १९९७ मा रिलिज बोर्डर ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो। भारतीय सिनेमामा देशभक्ती फिल्मको नयाँ आयाम दिएको उक्त फिल्म रिलिजको झन्डै २८ वर्षपछि यसको सिक्वेल आउन लागेको हो। गुलशन कुमार, टी–सिरीज र जेपी फिल्म्सको प्रस्तुति रहेको बोर्डर २ सन् २०२६ जनवरी २३ देखि प्रदर्शनमा आउने तयारीमा छ। बोर्डर २ को कथा र सिनेमाटोग्राफी पहिलो बोर्डर भन्दा अझ ठूलो र आधुनिक देखिन्छ। जहाँ बोर्डर लोंगेवाला युद्धमा केन्द्रित थियो, त्यहाँ बोर्डर २ ले स्थल, आकाश र समुद्र—तीनै मोर्चा देखाउँछ।
सनी देओलको अभिनय यसपटक अझै दमदार छ, विशेषगरी एक्शन दृश्यहरू पहिलेभन्दा अझ तीक्ष्ण र प्रभावशाली लाग्छन्। यद्यपि संगीतको मामलामा बोर्डर का यादगार धुनजत्तिकै गहिराइ यहाँ अलि कम महसुस हुन्छ। यदि त्यही स्तरको अपेक्षा लिएर जानुभयो भने हल्का निराशा हुन सक्छ, तर आजको समयअनुसार बोर्डर २ को संगीत पनि राम्रो छ।बोर्डर २ ठूलो स्केलको, भावनात्मक र शक्तिशाली युद्ध चलचित्र हो। केही ठाउँमा फिल्म अलि लामो लाग्छ र महिला पात्र सीमित छन्, तर बलियो अभिनय, ठोस निर्देशन र प्रभावशाली कथाले यसलाई हेर्न लायक बनाउँछ।
फिल्म सकिएपछि मनमा गर्व, सम्मान र भारतीय सैनिकप्रति गहिरो आदरको भावना छोडेर जान्छ।यो फिल्मलाई भूषण कुमार, कृष्ण कुमार, जेपी दत्ता र निधि दत्ताले निर्माण गरेका छन् भने यसको निर्देशन अनुराग सिंहले गरेका छन्। बोर्डर २ सन् १९९७ को सुपरहिट फिल्म ‘बोर्डर’ को सिक्वेल हो, जसमा सनी देओल, अक्षय खन्ना, सुनील शेट्टी, राखी, पूजा भट्ट, ज्याकी श्राफ लगायतका कलाकारहरूको अभिनय थियो।