
सुनाखरी न्युज/ काठमाडौं ।
पश्चिमी वायुको प्रभाव सक्रिय भएसँगै आज देशका अधिकांश स्थानको मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले आज ( शुक्रबार ) दिउँसो र राति विभिन्न स्थानमा वर्षा, हिमपात र असिना पर्न सक्ने सम्भावना देखिएको छ ।
विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको असर बढी देखिनेछ । महाशाखाका अनुसार आज दिउँसो यी दुई प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको योग रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि प्रक्षेपण गरिएको छ । तराईका जिल्लाहरूमा भने बिहानैदेखि हुस्सु र कुहिरो लागेर जनजीवन प्रभावित बनेको छ ।
महाशाखाका अनुसार आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको आकाशमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्छ ।
साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित ‘असिना पानी’ पर्ने सम्भावना समेत रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा मध्यम हिमपात र बागमती तथा कोशीको उच्च भेगमा हल्का हिमपातको सम्भावना रहेको छ ।