
सुनाखरी न्युज/ काठमाडौं ।
सर्लाहीको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लागे। उनी अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुन्। ७५ वर्षकी जिजुहजुरआमा अतिरुपा, ६० वर्षकी हजुरआमा फूलमाया र १५ वर्षकी बहिनी बिविकाको जिम्मेवारी एक्ला नाबालक विवेकको काँधमा छ। बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु दैनिकी बनेको छ। चार वर्षको उमेरमै आमाले छाडेर गएपछि विवेकका दाजु बहिनी टुहुरो बन्नुपर्यो। मामाघरतर्फको हजुरआमाको शरणमा हुर्किएका विवेकले कक्षा ३ सम्म गाउँ नजिकैको आधारभूत विद्यालयमा अध्ययन गरे। तर भर्ना गर्न जन्मदर्ता नभएपछि पढाइ छाड्नुपर्यो। चुरेको काखमा लगभग १० धुर ऐलानी जग्गा चर्चेर विवेकको परिवार बसिरहेका छन्। टाउको लुकाउन बनाएको टिनको सानो छाप्रोबाहेक सम्पत्तिका नाममा केही पनि छैन।
बाल्यकाल निकै संघर्षमा बिताएका विवेकले गाउँमै साहुको ट्र्याक्टरमा बालुवा लोड गर्ने कामबाट मजदुरी शुरू गरे। अहिले एउटा कुशल ट्र्याक्टर चालक बनिसकेका छन्। तर आफू जन्मेहुर्केको देशमा अनागरिक बन्नुपर्दा सीपसमेत बेकार बनेको छ। “निकै दुःख गरेर एउटा सीप सिकेको थिएँ, लाइसेन्स बनाउन पाए यसैको सहाराले परिवारको भरणपोषण गर्ने थिएँ। कागजात नहुँदा ट्र्याक्टर चलाएर परिवार पाल्ने सपना पनि अधुरो हुने भयो,” उनले सुनाए। “विवेकको आमाले सानैमा छाडेर गइन्,” जिजूहजुरआमा अतिरुपाले भनिन्, “बुबाको पनि अत्तोपत्तो छैन।” विवेकका हजुरबुबाको पनि कुनै कागजात फेला नपरेको अतिरुपाको भनाइ छ। कागजात भएका घरतर्फका आफन्त कोही फेला नपरेका कारण दुई पनाति पनातिनीको भविष्य नै अन्धकार बनेको उनले बताइन्।
विवेककी हजुरआमा बोल्न सक्दिनन्। बहिनीको भविष्यको चिन्ताले विवेकलाई सताइरहन्छ। ज्याला मजदुरी गरेरै भए पनि बहिनीलाई ठूलो मान्छे बनाउने सपना छ। तर, परिस्थितिले देशको नागरिकसम्म बन्ने हैसियत दिएन– दुई दाजु बहिनीलाई। एकपटक जन्मदर्ताका लागि स्थानीयको सल्लाहमा दाजुबहिनी वडा कार्यालयसम्म पुगे पनि कुनै प्रमाण नभएको भन्दै त्यसै फर्काइदिएको थियो। विवेकले जेनतेन बहिनी बिविकालाई हरिवन नगरपालिका–१ पटौनामा रहेको पटौना आधारभूत विद्यालयमा पढाइरहेका छन्। कक्षा ७ मा पढ्ने बिविकालाई अर्को वर्ष कक्षा ८ मा अनिवार्य भर्ना गर्नुपर्छ भन्दै विद्यालयले जन्मदर्ता मागेको छ। “तर कसरी जन्मदर्ता बन्छ भन्ने केही थाहा छैन,” उनले सुनाए। बहिनीले पनि आफूले जस्तै पढाइ छाड्नुपर्ने हो कि भन्ने उनलाई चिन्ता छ।
अर्कातर्फ विवेकको परिवारले प्रयोग गरिरहेको सानो घरसमेत जीर्ण बनेर ढलेपछि अहिले थप समस्या भएको छ। जसले गर्दा टाउको लुकाउने ठाउँसमेत छैन। छिमेकीकोमा शरण लिएर बस्नुपरेको छ। पुरानो घर भएको ठाउँमा ऋणधन गरेर भए पनि एउटा घर बनाउने सपना उनको छ। तर काम गरेर तिर्छु भन्नलाई समेत कुनै कागजात नहुँदा ऋण पाउने आशा छैन। विवेकको परिवारले उनैको भरथेगमा गुजारा गरिरहेको स्थानीय सुवास श्रेष्ठले बताए। जन्मदर्ता बन्न नसक्दा उनीसहित उनको भावी पिँढीले समेत अनागरिकको जीवन बाँच्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ। विवेकको समस्याका विषयमा वडाका तर्फबाट हुनेसम्म गर्न आफू तयार रहेको वडाध्यक्ष टमबहादुर घिसिङले बताए। नाबालक र नाबालिकाको जन्मदर्ताका विषयमा आफूले वडासचिवसँग नियमित कुराकानी गरेर कानूनी प्रक्रियाअनुसार निकासका लागि पहल गरिरहेको उनले बताए। (रासस)