
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाललाई सुरक्षित ढंगले प्रयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । ब्युरोले आज एक सूचना जारी गर्दै सर्वसाधारणमा यस्तो अनुरोध गरेको हो ।हेर्दा, सोच्दा यो सामान्य विषय लागे पनि कतिपयका लागि गम्भीर विषय हुन सक्छ । किनकि आफ्नो पासवर्ड बारम्बार परिवर्तनदेखि हतपत्त नगर्नेसम्मका प्रयोगकर्ताहरू भेटिन्छन् । आजको तुलनामा पहिले अवश्य पनि साइबर सुरक्षा अब्बल थिएन । पासवर्ड लिक हुने खालका गतिविधिहरू भइरहन्थे ।
ब्युरोमा यस प्रकारका निवेदन दिनहुँ आइरहेपछि ब्युरोले सर्वसाधारणलाई सुरक्षित तरिकाले सामाजिक सञ्जाल प्रयोग गर्न अनुरोध गरेको हो ।ब्युरोले जारी गरेको सूचनामा सामाजिक सञ्जाल प्रयोगकर्ताले गोप्य रुपमा पासवर्ड प्रयोग गर्ने र पासवर्ड अरुले प्रयोग गर्न नसक्ने ढंगले पासवर्ड प्रयोग गर्न अनुरोध पनि गरेको छ । ‘सामाजिक सञ्जालको सुरक्षित प्रयोगको लागि समय समयमा आफ्नो पासवर्ड परिवर्तन गर्न र मल्टी फङ्सन एथेन्टिकेशन सेट गरी सुरक्षित रुपमा सामाजकि सञ्जालको प्रयोग गर्नुहुनको लागि अनुरोध गरिएको छ,’ ब्युरोले सर्वसाधारण सबैमा सुझावसमेत दिएको छ । आफ्नो सामाजिक सञ्जाल कसैले दुरुपयोग गरेको थाहा पाइएमा ब्युरोको फोन नम्बर- ०१ ४२१९०४४, ४२१९०४८ मा सम्पर्क गर्न पनि ब्युरोले अनुरोध गरेको छ ।
यी अवस्थामा मात्र पासवर्ड परिवर्तन गर्ने – तपाईंले अब बारम्बारभन्दा पनि निश्चित परिस्थितिमा बाहेक अन्य अवस्थामा पासवर्ड परिवर्तन नगर्दा पनि हुन्छ । तर, यस्ता अवस्थाहरू भएको खण्डमा चाहिँ तपाईंले तत्कालै पासवर्ड परिवर्तन गर्नुपर्छ । तपाईंको अकाउन्ट भएका प्लेटफर्महरू ह्याक भएको खबर आएमा तुरुन्तै पासवर्ड परिवर्तन गर्नुहोस् । अस्थायी रूपमा भए पनि तपाईंले आफ्नो पासवर्ड कसैलाई दिनुभएको छ भने आवश्यक काम सकेपश्चात पासवर्ड परिवर्तन गर्नुहोस् । सुरक्षित नभएको सार्वजनिक वाईफाईहरू प्रयोग गरेपछि, तिनमा बिना भीपीएन लगइन गर्नुभएको छ भने पासवर्ड बदल्नु राम्रो हुन्छ । तपाईंको आफ्नो डिभाइसमा मालवेयर भएको थाहा लागे तत्कालै पासवर्ड परिवर्तन गर्नुहोस् । एउटै पासवर्ड धेरै साइटमा प्रयोग गरिरहनुभएको छ भने ती सबै परिवर्तन गर्नुहोस् । र सबै खाताका लागि फरक(फरक पासवर्ड बनाउनुहोस् ।