
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल वायुसेवा निगमको रिक्त महाप्रबन्धक पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये १० जना सर्टलिस्ट भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत गठित छनोट समितिले प्रतिस्पर्धात्मक प्रक्रियामार्फत योग्य ठहरिएका उम्मेदवारको आइतबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएकाले भर्खरै ९ बजे राति संक्षिप्त सूची सार्वजनिक गरेको हो ।
छनोट समितिका अनुसार खुला प्रतिस्पर्धामार्फत प्राप्त १६ जना आवेदकमध्ये कार्यविधिको दफा ५ अनुसार तोकिएको न्यूनतम शैक्षिक योग्यता र अनुभव पूरा गरेका १० जना उम्मेदवारलाई व्यावसायिक कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि छनोट गरिएको हो । सर्टलिस्टमा उपेन्द्र बहादुर कार्की, टंकमणि दाहाल, डा। दीपकप्रसाद बास्तोला, दिपराज ज्वारचन, डा। भीमबहादुर चन्द, योगराज केण्डेल शर्मा, विष्णुबाबु मिश्र, बेदप्रसाद उप्रेती, सञ्जयकुमार सिंह र सन्तुष्टकुमार बस्नेत छन् ।
छनोट समितिका अनुसार, सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ता माघ १४ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौँमा आयोजना हुनेछ।