
सुनाखरी न्युज/काठमाडौं ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच बालुवाटारमा वार्ता जारी छ ।
यो वार्तापछि विशेष महाधिवेशन कसरी अघि बढाउने भन्ने टुंगो लाग्ने नेताहरुले बताएका छन् ।
विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माको टोलीले संस्थापन पक्षसँग वार्ता गरिरहेको हो ।
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन् ।
वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन् ।
विशेष पक्षले सभापति देउवासहित संस्थापन पक्षलाई बोलाए पनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएका थिएनन् ।
सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश समेत निकटस्थहरूमार्फत् दिइरहेका छन् ।
कांग्रेसका ५१ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनमा जोड दिएका छन् । संस्थापन पक्षले बेवास्ता गरे जारी विशेष महाधिवेशनबाट आजैदेखि निर्वाचन प्रक्रिया थाल्ने उनीहरूको चेतावनी छ ।