
सुनाखरी न्युज/ काठमाडौं ।
इन्टरनेसनल सोसल साइन्स एण्ड म्यानेजमेन्ट वेल्फेयर एसोसिएसन अफ नेपाल र इन्टरनेसनल युथ इकोनोमिक एसोसिएसन, नेपालको संयुक्त तत्त्वधानमा नेपाल-भारत अन्तरसम्बन्ध (राजनीतिक, सांस्कृतिक तथा सामाजिक-आर्थिक विकास) शीर्षकमा एक दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन ग्रीनलिफ होटेल, पुतली सडक, काठमाडौँमा भव्यताका साथ सम्पन्न भयो।
कार्यक्रमको आरम्भ सरस्वती बन्दनाबाट भयो तत्पश्चात मञ्चासिन व्यक्तित्वहरुलाई नेपाली टोपी र रुद्राक्षको माला लगाइयो। कार्यक्रमको अध्यक्षता इन्टरनेसनल युथ एसोसिएस नेपालका उपाध्यक्ष डा. रामनाथ उपाध्यायले गर्नुभयो। कार्यक्रममा डा. देवेन्द्र विश्वकर्मा, अध्यक्ष, युथ इकोनोमिक एसोसिएसन एन्ड एम.पी म्यानेजमेन्ट एसोसिएसन हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा डिल्लीराम शर्मा संग्रौला, विभागीय प्रमुख (हिन्दी, संस्कृत पत्रकारिता), पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौँ हुनुहुन्थ्यो।
मुख्य अतिथि डा. देवेन्द्र विश्वकर्माले नेपाल-भारतको सम्बन्ध सदियौंदेखि रहि आएको र दुबै देशका नागरिकको सम्बन्ध हृदयदेखि हृदयसम्म छ भन्नुभयो। धार्मिक दृष्टिकोणले हेर्दा भारतका लागि नेपाल एउटा पर्यटकीय स्थल हो किनभने नेपालमा पशुपतिनाथको मन्दिर, मुक्तिनाथको मन्दिर, जानकी माताको मन्दिर र त्यसैगरी अन्य धेरै शक्तिशाली मन्दिरहरू र शक्ति पीठहरू भएकाले भारतीयहरु प्रत्येक साल यहाँ लाखौंका संख्यामा आउने गर्छन्। त्यसरी नै भारतमा पनि नेपालबाट धेरै धार्मिक श्रद्धालुहरू हरिद्वार, ऋषिकेश, काशी, गया, मथुरा, वृन्दावन आदि धार्मिक क्षेत्रमा जानुहुन्छ र यो आवतजावत सदियौंदेखि कायम छ।

उहाँले नेपाल-भारत सम्बन्धमा एउटा ईटा जोड्नका लागि काठमाडौँ-उज्जैन यातायात सेवा सञ्चालन गर्न आवश्यक महसुस भएको कुरा गर्नुभयो र यसका लागि सरकारका प्रतिनिधिसँग कुरा गर्ने कुरा बताउनुभयो। उहाँद्वारा लिखित India & Nepal Relationship (Political, Cultural & Socio-Economic Development) नामक पुस्तक मञ्चासिन व्यक्तित्वहरूका हातबाट लोकार्पण भयो। विशिष्ट अतिथि डिल्लीराम शर्मा संग्रौलाले नेपाल-भारतको सम्बन्ध फूल र सुगन्धको जस्तै भएको भन्नुभयो। उहाँले दुई देश बीच सांस्कृतिक सम्बन्ध रहेको कुरा गर्नुभयो। संग्रौलाले नेपाली र हिन्दी साहित्यको कुरा पनि गर्नुभयो। नेपाली भाषाको विकासमा हिन्दी भाषाको प्रभाव रहेको र त्यसरी नै धेरै नेपाली साहित्यकारहरूले हिन्दी भाषाको सेवा गरेको कुरा उहाँले बताउनुभयो। भाषाले पनि दुई देशको बीचमा सम्बन्ध बढाएको उहाँको अभिप्राय थियो।
कार्यक्रममा ने.क.पा. का नेता भरत प्रसाद शाह को गरिमामय उपस्थिति थियो। उहाँले नेपाल भारतको सम्बन्ध पुरानो रहेको र यो सम्बन्ध निरन्तर रहिरहने कुरा व्यक्त गर्नुभयो। उहाँले डा. देवेन्द्रले राखेको काठमाडौँ उज्जैन यातायात सञ्चालनको प्रस्तावलाई आफूले पनि आफ्ना तर्फबाट सहयोग गर्ने कुरा राख्नुभयो। कार्यक्रममा केही विद्वानहरूले कविता वाचन पनि गर्नुभयो। मगही कवि उपेन्द्र दासले मगही र हिन्दी भाषामा कविता वाचन गर्नुभयो भने मनोज गोपले नेपाली र हिन्दी भाषामा कवितावाचन गर्नुभयो। कार्यक्रमका अध्यक्ष रामनाथ उपाध्यायले नेपाल-भारत एकअर्काका पूरक भएका र सदियौँदेखि एकअर्कालाई दुबै देशले सहयोग पुर्याएका कुरा गर्नुभयो। आफूले पनि शिक्षा भारतबाट नै प्राप्त गरेको र नेपालको शिक्षा क्षेत्रमा भारतको पनि महत्त्वपूर्ण भूमिका रहेको कुरा उहाँको थियो। कार्यक्रममा देशका विभिन्न तह तप्काका विद्वानहरूको सराहनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन डा. प्रवीण कुमार झाले गर्नुभएको थियो।