
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसमा विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ। काठमाडौँस्थित भृकुटीमण्डपमा दिउँसो १ः०० बजे विशेष महाधिवेशनको उद्घाटन हुने तय भएको छ। उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ।प्रमुख अतिथिको निमन्त्रणा पठाइएको भए पनि देउवाले भने अस्वीकार गरेका छन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ । उनीहरुले आजकै मितिमा जिल्ला सभापति र युवाको भेला बोलाएका छन् ।
आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् । त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।
पुडासैनीका अनुसार उद्घाटनका दिन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको जनाउँदै उनले विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण नगरिएको बताए।विशेष महाधिवेशनको सचिवालयका अनुसार भने पहिलो विशेष महाधिवेशनका प्रतिनिधिसमेत रहेका ओमकार श्रेष्ठ र पूर्वउपसभापतिसमेत रहेका गोपालमान श्रेष्ठमध्ये एकले बन्दसत्रको सभापतित्व गर्नेछन् ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७९२० बमोजिम विशेषको माग गरेका हुन् । आचार्यले २०१४ सालमा मोरङमा भएको विशेष महाधिवेशनको उद्घाटनको सभापतित्व तत्कालीन मोरङ सभापतिको हैसियतले गिरिजाप्रसाद कोइरालाले गरेको र अहिले यहाँ काठमाडौँको सभापतिले गर्ने जानकारी दिए । महाधिवेशन सोमबारसम्म चल्नेछ । महाधिवेशनका लागि बाहिर जिल्लाका प्रतिनिधिहरु शनिबार नै काठमाडौं आइसकेका छन् ।