
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकाले भेनेजुएलाको तेल बोकेको थप दुइटा पानीजहाज कब्जा गरेको छ।
अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरेपछि पुनः तेल बोकेको जहाज कब्जा गर्न थालेको हो।
मदुरो पक्राउअघि पनि अमेरिकाले भेनेजुएलाको तेल बोकेको दुइटा पानी जहाज क्यारेबियन क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।
यसपटक भने अमेरिकाले रूसी ध्वजाबाहक पानी जहाज नियन्त्रणमा लिएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। अर्को जहाज पनामाको ध्वजावाहक रहेको छ। अमेरिकी अधिकारीहरूले दिनौंसम्म खोजी गरेर उक्त पानीजहाज कब्जा गरेको हो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासहित सम्पूर्ण अमेरिकन महादेशमा तेल आपूर्ति नियन्त्रण गर्ने र भेनेजुएलाको समाजवादी सरकारलाई अमेरिकी हितअनुकूल बनाउने आक्रामक नीतिको हिस्साका रूपमा यो कदम चालिएको ह्वाइट हाउसले जनाएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार, हप्तौँसम्म चलेको खोजीपछि बुधबार बिहान अमेरिकी कोस्ट गार्ड र विशेष सैन्य बलले ‘मारिनेरा’ नामक कच्चा तेल बोकेको पानीजहाज नियन्त्रणमा लिएका हुन्।
सो पानीजहाजले अघिल्लो महिना निरीक्षण अस्वीकार गरेपछि आफ्नो झन्डा परिवर्तन गरी रुसी झन्डा प्रयोग गर्न थालेको थियो भनेर रोयटर्सले लेखेको छ।