
सुनाखरी न्युज / काठमाडौं ।
दुई धार्मिक समुदायबीच उत्पन्न तनावपछि वीरगञ्जमा लगाइएको कर्फ्यू हटाइएको छ। मंगलबार साँझ ६ बजेदेखि लागू गरिएको कर्फ्यू सर्वपक्षीय पाँच बुँदे सहमतिपछि हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन्।प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार जिल्लाको शान्ति सुरक्षा अवस्था क्रमशः सुधार हुँदै गएको, नागरिकको आवागमन, व्यापार–व्यवसाय तथा दैनिक जीवन सहज बनाउन आवश्यक देखिएकाले कर्फ्यू हटाउने निर्णय गरिएको हो।
यसअघि स्थानीय प्रशासनले मंगलबार साँझ ६ बजेसम्मका लागि कर्फ्यू अवधि थप गरेको थियो।प्रजिअ दाहालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ, “सर्वदलीय तथा सर्वपक्षीय बैठकमा भएको सहमति, हाल जिल्लाको शान्ति सुरक्षाको अवस्था सुदृढ हुँदै गएको तथा नागरिकको स्वतन्त्र आवागमन र आर्थिक गतिविधि निर्वाध रूपमा सञ्चालन गर्न दिनुपर्ने अवस्थालाई मध्यनजर गर्दै मिति २०८२्०९्२२ गते अपरान्ह ३स्३० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश हटाइएको छ।”
कर्फ्यू हटाइएसँगै वीरगञ्जका मुख्य बजार क्षेत्र, उद्योग–व्यवसाय र यातायात सेवा पुनः सञ्चालनमा आएका छन्। स्थानीयवासीले राहत महसुस गरेका छन् भने प्रशासनले अझै पनि सतर्कता अपनाउन आग्रह गरेको छ।प्रशासनका अनुसार सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ र कुनै पनि अप्रिय गतिविधि हुन नदिन नियमित गस्ती तथा निगरानी जारी रहनेछ।
साथै, सामाजिक सद्भाव र आपसी सहकार्य कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरिएको छ।स्थानीय प्रशासनले कुनै पनि अफवाहमा नपर्न, शान्ति भंग हुने गतिविधिमा संलग्न नहुन र समस्या भए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ।