
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ (घ)’ जारी गर्ने भएको छ। बैंकले एक वर्ष अवधिको उक्त ऋणपत्र अनलाइन बोलकबोल प्रणालीमार्फत निष्कासन गर्न लागेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार यो ऋणपत्र लगानीकर्ताको लगानी पोर्टफोलियोमा समावेश हुनेछ भने यसलाई अनिवार्य नगद मौज्दात गणनामा समावेश गरिने छैन् । तर वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपात गणनामा भने प्रयोग गर्न सकिनेछ । ऋणपत्रसम्बन्धी थप जानकारीका लागि राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने जनाएको छ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल मिति २०८२ पुस २२ गते ९आज० मध्यान्ह १२ बजेसम्म तोकिएको छ। आजै ऋणपत्र निष्कासन गरिनेछ भने यसको परिपक्वता मिति २०८३ पुस २२ गते रहेको छ।
ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । यसमा ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ। लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका दरले, कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
उक्त ऋणपत्र नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था ९काउन्टरपार्टी० हरूले मात्र खरिद गर्न पाउनेछन् । ऋणपत्रलाई धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ।
बोलकबोलमार्फत प्राप्त ब्याजदरको आधारमा न्यूनतमदेखि उच्च क्रम अनुसार ऋणपत्र बाँडफाँट गरिनेछ। समान ब्याजदरमा माग बढी भएमा समानुपातिकका आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।