२०८२ फाल्गुन २२ , शुक्रवार

काठमाडौँबाट नक्कली नोटसहित ६ जना पक्राउ, कसरी चिन्ने सक्कली र नक्कली ?

nkkali-note

सुनाखरी न्युज / काठमाडौं ।

प्रहरीले गोकर्णेश्वर नगरपालिका ८‚ अत्तरखेलबाट नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय दावा नोर्बु शेर्पा, सोही ठाउँका ५५ वर्षीय पासाङ शेर्पा, सिन्धुपाल्चोक मेलम्चीका ३२ वर्षीय प्रकाश गुरुङ, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीकी ४२ वर्षीया रेणुका भारती, सिन्धुपाल्चोक बलेफीका ६५ वर्षीय गोकर्ण थापा र काठमाडौँ शंखरापुरका ४३ वर्षीय सुकबहादुर स्याङ्बो छन् । उनीहरूको साथबाट हजार दरका ९३ थान नक्कली नोट बरामद भएको पनि भट्टराईले जानकारी दिए।

नक्कली नोट कसरी फेला पर्छन् ,  कसरी चिन्ने ? 
“कहिले सादा पोसाकमा खटिएका प्रहरीले फेला पार्छन्,” प्रहरी प्रवक्ता काफ्ले भन्छन्, “कहिलेकाहीँ पसले र अन्य सचेत नागरिकले पनि हामीलाई जानकारी दिनुहुन्छ अनि अनुसन्धान गरिन्छ”। प्रहरीले त्यसपछि राष्ट्रब्याङ्कसँग पनि समन्वय गर्छ। राष्ट्र ब्याङ्कले नोटलाई दुरुस्त चोर्न नसकून भनेर विभिन्न सुरक्षा उपायहरू अपनाउने गरेको र झन्झन् बढी त्यस्ता सुरक्षा उपायहरू थप्दै गएको राष्ट्र ब्याङ्कका प्रवक्ता गुरुप्रसाद पौडेल बताउँछन्।

प्रवक्ता पौडेलले भने, “हामीले अन्तर्राष्ट्रिय चलन कस्तो छ भनेर अन्य देशका मुद्रा हेरेर त्यसै अनुसार फीचरहरू राखेका छौँ, विदेशमा राम्रो छाप्ने ठाउँ हेरेर छपाएका छौँ, निरन्तर चनाखो भएर हेरिरहेका हुन्छौँ र हाम्रा मुद्रामा सुरक्षा फीचर अद्यावधिक गर्ने गरेका छौँ।” केन्द्रीय ब्याङ्कले नोट सक्कली हो कि नक्कली भनेर कसरी चिन्ने भन्नेबारे विभिन्न सूचना पनि आफ्नो वेबसाइटमा राखेको छ। विभिन्न मूल्यका नोट नक्कली र सक्कली छुट्याउन भिन्दाभिन्दै जाँच्ने तरिकाहरू वेबसाइटमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा राखिएको छ।

राष्ट्र ब्याङ्कले वेबसाइटमा लेखेको छ ।  “नोटको अग्र भागमा प्रिन्ट गरिएको “श्री नेपाल राष्ट्र बैङ्क, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैङ्कबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइने छ।”, कुबेरको आकृति, फरक क्षमता भएका दृष्टिविहीनहरूका लागि राखिएका दुई वटा गोलाकार थोप्लाहरू आदि विशेषताहरू नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका विशेषताहरू हुन्।”

“उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ। नोटमा रहेको कुबेरको आकृतिको रङ्ग नोटलाई हेरिने कोणको आधारमा फरकफरक रङ्गमा परिवर्तन हुन्छ। सामान्य अवस्थामा ९प्रकाश प्रसारण नहुने० नोटको अग्र भागलाई हेर्दा उक्त आकृति सुनौलो रङ्गको देखिने र नोटलाई केही ढल्काएर हेर्दा उक्त आकृति हरियो रङ्गको देखिने हुन्छ । प्रवक्ता पौडेल भन्छन्, “हेरेर, छोएर र ढल्काएर  ( टिल्ट गरेर )  तथा यूभी प्रकाशमा जाँच्न मिल्ने किसिमका फीचर छन् हाम्रो नोटमा।” खासमा अलिकति पनि चनाखो व्यक्ति झुक्किने अवस्था नरहेको तर नक्कली र सक्कलीको भेउ नपाउनेहरू मात्र झुक्किन सक्ने अधिकारीहरू बताउँछन्।