
सुनाखरी न्युज/ काठमाडौं
वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको हो ।धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा सोमबार साँझबाट कर्फ्यु आदेश जारी गरेको थियो ।
सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरिएको कर्फ्यु दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । स्थानीय प्रशासनले पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट क्षेत्रमा कुनै पनि प्रकारको सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न नपाइने गरी कर्फ्यू आदेश जारी गरेको हो ।
धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन गरिरहेका छन् । कर्फ्यु आदेश अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने चल्न पाउने प्रशासनले जनाएको छ ।