२०८२ फाल्गुन २२ , शुक्रवार

ट्रम्पको निसानामा ग्रीनल्यान्ड, क्युबा र कोलम्बिया

Donald-Trump-(1)

सुनाखरी न्युज/ काठमाडौं ।

भेनेजुएलामा निकोलस मदुरोलाई सत्ताच्युत गर्न गरिएको अमेरिकी सैन्य कारबाहीको भोलिपल्टै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वैदेशिक रणनीतिको अर्को लक्ष्य संकेत गरेका छन् । ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्यान्डमा अमेरिकी नियन्त्रण हुनुपर्ने दाबी दोहोर्‍याएका छन् भने कोलम्बिया र क्युबालाई समेत चेतावनी दिएका छन् । ट्रम्पले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोलाई धम्की दिँदै क्युबाको सरकार पनि चाँडै ढल्ने चेतावनी दिएको समाचार संस्था अलजजिराले जनाएको छ ।

यस्तै ट्रम्पले ग्रीनल्यान्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको बताउँद भने, ‘ग्रीनल्यान्डमा अहिले रुसी र चिनियाँ जहाजहरूको चहलपहल बढेको छ । आइतबार एयर फोर्स वनभित्र पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले निकोलास मादुरोको पक्राउलाई लिएर बढ्दो आलोचनाका बाबजुद पनि ल्याटिन अमेरिकामा थप सैन्य हस्तक्षेपबारे सोच्न तयार रहेको संकेत गरे ।

ट्रम्पले कोलम्बिया र भेनेजुएला दुवै ‘गम्भीर रूपमा बिरामी’ अवस्थामा रहेको टिप्पणी गर्दै बोगोटास्थित सरकार अमेरिकामा कोकिन बनाउने र बेच्ने काम मन पराउने बिरामी मान्छेले चलाइरहेको आरोप लगाए ।‘ऊ धेरै समयसम्म त्यसो गर्न पाउने छैन । म तपाईंलाई भन्छु,’ ट्रम्पले कोलम्बियाका राष्ट्रपति पेट्रोलाई लक्षित गर्दै भने । अमेरिकाले कोलम्बियामा कुनै कारबाही गर्ने संकेत हो कि भन्ने प्रश्नमा ट्रम्पले भने, ‘मलाई त राम्रो लाग्छ ।’ यी टिप्पणीहरूपछि पेट्रोले कडा प्रतिक्रिया जनाउँदै ल्याटिन अमेरिकाका सबै देशहरूलाई एकजुट हुन आह्वान गरेका छन् । ‘मानव इतिहासमै दक्षिण अमेरिकी राजधानीमा बमबारी गर्ने पहिलो देश अमेरिका हो’, पेट्रोले सामाजिक सञ्जाल एक्समा लामो पोस्ट लेखेका छन् ।

ट्रम्पका यी भनाइहरू अमेरिकी सेनाले शनिबार भेनेजुएलको राजधानी काराकासमा मादुरोलाई नियन्त्रणमा लिएपछि आएका हुन् । वासिङ्टनले यसलाई २०२० का ‘नार्को–आतंकवाद’ सम्बन्धी अभियोगमा अदालतमा ल्याउन गरिएको कानुनी कारबाही भनेको छ । तर आलोचकहरूका अनुसार मादुरोलाई हटाउनुको उद्देश्य भेनेजुएलाको विशाल तेल भण्डारमाथि नियन्त्रण जमाउनु हो । यो कारबाही सन् १९८९ मा पनामा आक्रमणपछि ल्याटिन अमेरिकामा भएको सबैभन्दा विवादास्पद अमेरिकी हस्तक्षेप मानिएको छ । ट्रम्पले भेनेजुएलामाथि अमेरिका नियन्त्रणमा रहेको पनि दाबी गरे । भेनेजुएलाले ठीक व्यवहार नगरे फेरि सेना पठाउने धम्की पनि ट्रम्पले दिएका छन् । उनले अमेरिकी आक्रमणमा धेरै क्युबाली मारिएको दाबी गर्दै क्युबामा सैन्य हस्तक्षेप आवश्यक नरहेको, किनकि त्यो देश आफैँ ढल्नै लागेको जस्तो देखिएको दाबी गरे ।

‘क्युबा ढल्न तयार छ । क्युबा ढल्नै लागेको जस्तो देखिन्छ,’ ट्रम्पले भने । ‘अहिले क्युबासँग कुनै आय छैन । उनीहरूको सबै आम्दानी भेनेजुएलाको तेलबाट आउँथ्यो । अब त्यो पाइरहेका छैनन् । क्युबा साँच्चिकै ढल्नै लागेको छ । र यसबाट धेरै क्युबाली–अमेरिकीहरू निकै खुसी हुनेछन्,’ उनले थपे । ट्रम्पले छिमेकी मेक्सिकोलाई पनि चेतावनी दिँदै भने, ‘मेक्सिकोले आफ्नो अवस्था सुधार्नुपर्छ, किनकि लागूपदार्थ मेक्सिको हुँदै बगिरहेको छ र हामीले केही गर्नुपर्ने हुन सक्छ ।’ आइतबारका यी टिप्पणीहरू ट्रम्पका कोलम्बिया र क्युबाविरुद्धका पहिलो धम्की भने होइनन् । फिडेल कास्त्रोले अमेरिकासमर्थित सरकार हटाएर समाजवादी राज्य स्थापना गरेदेखि नै अमेरिका–क्युबा सम्बन्ध तनावपूर्ण छ ।