
सुनाखरी न्युज/ काठमाडौं ।
भद्रपुर विमानस्थलमा शुक्रबार राति धावनमार्गबाट बाहिरिएर खोल्सोमा धसिएको बुद्ध एयरको एटीआर–७२ विमान निकाल्ने प्रयास आइतबार पनि जारी छ। साना क्रेनले विमान उठाउन नसकेपछि आज विराटनगरबाट ५० टन क्षमताको ठूलो क्रेन लगिँदै छ। शनिबार बुद्ध एयरले काठमाडौंबाट १८ जना प्राविधिकसहित अर्को एटीआर विमानमार्फत उद्धार टोली भद्रपुर पठाएको थियो । त्यस्तै प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णसहितको टोली शनिबार बुद्धको रिलिफ उडानबाट घटनास्थल पुगेको थियो र शनिबारै त्यो टोलीका अधिकांश सदस्य काठमाडौं फर्किसकेका छन् ।
घटनास्थलबाट प्राप्त विवरण अनुसार, विमानभित्र रहेका सबै ७२ सिट निकालेर चौरमा सुरक्षित राखिएको छ । करिब १ हजार २ सय किलो इन्धन पनि निकालेर सुरक्षित रूपमा डम्प गरिएको छ ।विमानको पुच्छर धावनमार्ग नजिकै रहेकाले हाल भद्रपुरमा जोखिमपूर्ण उडान भइरहेको छ। विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार धावनमार्गको कुल लम्बाई १,५०० मिटर भए पनि हाल २८ नम्बर बिन्दुबाट १०० मिटर घटाएर मात्र अवतरणको अनुमति दिइएको छ। शुक्रबारदेखि रोकिएको यति एयरलाइन्सको विमान भने आइतबार बिहान काठमाडौँ फर्किएको छ।
विमानका क्याप्टेन शैलेष लिम्बू र को–पाइलट सुसान्त श्रेष्ठलाई नियमानुसार ‘ग्राउन्डेड’ गरी स्वास्थ्य परीक्षण गरिएको छ। प्राधिकरणको प्रारम्भिक अनुमानमा विमान तोकिएको उचाइभन्दा केही माथिबाटै ‘टचडाउन’ भएको देखिए पनि वास्तविक कारण ‘ब्ल्याक बक्स’ को अध्ययनपछि मात्र खुल्नेछ। विमानको अवस्था मूल्यांकन गर्न आज बेलायत र भारतबाट बीमा कम्पनीका प्रतिनिधि नेपाल आइपुग्दैछन्। सोमबार फ्रान्सबाट एटीआर निर्माता कम्पनीको प्राविधिक टोलीले निरीक्षण गरेपछि मात्र विमान पुनः उडाउन मिल्ने वा नमिल्ने टुङ्गो लाग्नेछ। ‘रनवे एक्सकर्सन’ प्राविधिक भाषामा यसलाई ‘रनवे एक्सकर्सन’ ( धावनमार्गबाट बाहिरिनु) भनिन्छ।