२०८२ फाल्गुन २३ , शनिवार

२४ घण्टा पछि खुल्यो रौतहट–निजगढ सडकखण्ड

Gass-Bullet

सुनाखरी न्युज/ काठमाडौं ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुलेको छ ।मंगलबार ग्यास बुलेट पल्टिएर राजमार्ग अवरुद्ध भएको थियो। क्रेनको सहायताले बुलेट किनारमा सराएपछि सडक सफा गरी सवारीसाधन सञ्चालनमा फर्काइएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ।

मंगलबार बिहान करिब ७ : ५० बजे ग्यास बोकेको बुलेट दुर्घटनामा परेपछि राजमार्ग पूर्ण रूपमा ठप्प भएको थियो । मुख्य राजमार्ग बन्द हुँदा लामो दूरीका सवारी साधनहरू वैकल्पिक रूपमा साँघुरा र घुमाउरा ग्रामीण सडक प्रयोग गर्न बाध्य भएका थिए, जसका कारण यात्रुहरूलाई ठूलो सास्ती खेप्नुपरेको थियो ।

जिल्ला ट्राफिक कार्यालय रौतहटका अनुसार दुईवटा क्रेनको सहायताले दुर्घटनाग्रस्त ग्यास बुलेटलाई सडकको किनारमा सारिएपछि बुधबार बिहान साढे ७ बजेदेखि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको हो । जिल्ला ट्राफिक कार्यालयका निरीक्षक राजेन्द्र थापामगरले राजमार्ग अहिले पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए ।

दुर्घटनापछि ग्यास चुहावट देखिएकाले सम्भावित आगलागीको जोखिमलाई मध्यनजर गर्दै दमकल परिचालन गरिएको थियो । सुरक्षाका लागि लगातार पानी छर्किँदै बुलेट उठाउने कार्य गरिएको थियो ।