
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व नभएको पाइएको छ। मंगलबार बुझाइएको बन्दसूचीमा कांग्रेसले ६४ जिल्लालाई मात्र समेटेको छ।
प्रदेशगत रूपमा सबैभन्दा बढी बागमती प्रदेशका चार जिल्ला—ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवन बाट कसैलाई पनि उम्मेदवार बनाइएको छैन। कांग्रेसले बागमतीका ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवन, कोशीका धनकुटा, ओखलढुंगा र खोटाङ, गण्डकीका मनाङ, म्याग्दी र लमजुङ, लुम्बिनीका पूवी रूकुम र प्युठान तथा कर्णालीको जुम्लाबाट कसैलाई पनि समानुपातिकतर्फको उम्मेदवार बनाएको छैन ।
कांग्रेसको बन्दसूचीमा मधेश र सुदूरपश्चिम प्रदेशबाट भने सबै जिल्लाको प्रतिनिधित्व भएको देखिन्छ । मधेश प्रदेशको धनुषा जिल्लाबाट ६ जना, बाराबाट तीन, सप्तरीबाट तीन, महोत्तरीबाट दुई, रौतहटबाट दुई, सर्लाही, सिरहा र पर्साबाट एक–एक जना कांग्रेसको बन्दसूचीमा परेका छन् ।