२०८२ फाल्गुन २२ , शुक्रवार

गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना पक्राउ

ambulanc-ganja

 

सुनाखरी न्युज/ काठमाडौं ।

गाँजा बोकेको एम्बुलेन्सलाई नियन्त्रणमा लिन प्रहरीले आइतबार राति मोरङमा गोली चलाएको छ । केराबारी गाउँपालिका–५ लाफा टोलमा राति ११ बजेतिर प्रहरीले हवाई फायर गरेको हो । प्रहरीले गोली चलाएर गाँजा लोड गरिएको एम्बुलेन्समा नियन्त्रणमा लिएको छ । यस घटनाले गाँजा ओसारपसारका लागि एम्बुलेन्सको दुरुपयोग गरिएको गम्भीर घटना सार्वजनिक भएको छ । एम्बुलेन्समा लुकाइछिपाइ ल्याएको १६ पोका गाँजासहित प्रहरीले २ जनालाई पक्राउसमेत गरेको छ ।

शनिबार राति पनि मोरङको जहदा गाउँपालिका–२ तारिगामामा एक राउण्ड हवाई फायर गरी गाँजा ओसारपसारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आइतबार राति धनकुटाबाट मोरङतर्फ आउँदै गरेको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले केराबारी–५ लाफा टोलमा रोक्न खोजेको थियो ।

प्रहरीलाई देख्नासाथ एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समा सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू भागेका थिए ।त्यसपछि प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको थियो । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार एम्बुलेन्समा सवार दुवै पक्राउ परेका छन् ।