२०८२ फाल्गुन २२ , शुक्रवार

उद्योगीलाई चाँदी आयात गर्दा मासिक २० लाख डलर सटही सुविधा

Silver

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले मासिक रूपमा पनि चाँदी आयात गर्न सकिने व्यवस्था गरेको छ ।

हरेक दिन आयात गर्न सक्ने उद्योग तथा व्यवसायीले ठूलो मात्रामा आयात गर्छु भनेको खण्डमा महिनाका एक पटक २० लाख अमेरिकी डलरसम्मको सटही सुविधा दिने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

हरेक दिन आयात गर्दा लागत बढी पर्ने भएकाले मासिक एक पटकको आयातमा पनि सटही सुविधाको व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

 

सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा लगायत बनाउन औद्योगिक कच्चापदार्थका रूपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ५ लाख वा सोही बराबर अन्य मुद्रा सटही सुविधा प्रदान गर्न सकिने छ ।

 

अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर १ लाख वा सोही बराबर अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था छ ।

यो व्यवस्थासँगै केन्द्रीय बैंकले महिनामा एकपटक मात्र आयात गर्ने उद्योग र व्यवसायीका हकमा उपयुक्त सीमा क्रमश: २० लाख र ४ लाख अमेरिकी डलरको सीमासम्म हुने गरी सटही सुविधा पाउने व्यवस्था गरेको छ ।

चाँदीका गरगहना, कलात्मक वस्तु आदि निकासी गर्ने व्यवसायीलाई निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेशका आधारमा सटही सुविधा प्रदान गरिने केन्द्रीय बैंकले जनाएको छ । कागजातमा उल्लिखित मूल्यसम्मको चाँदी आयातका लागि सटही सुविधा प्रदान हुनेछ ।

सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा त्यसअघि सटही सुविधा प्रदान भएको भए सोही अन्तर्गत चाँदी आयात भई तोकिए बमोजिम निर्यात भएरनभएको यकिन गर्नुपर्छ ।

सम्बन्धित वाणिज्य बैंकबाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयात सटही सुविधा लिई निर्यात भुक्तानी लिन बक्यौता नरहेको सम्बन्धी स्वघोषणा चाँदी व्यवसायीसँग लिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।