२०८२ फाल्गुन २२ , शुक्रवार

क्यासिनो वाल्डोका अध्यक्ष च्यान मिन चिङ पक्राउ

1766904749-OzL2M

सुनाखरी न्युज/ काठमाडौ ।

काठमाडौँको ठमेलमा सञ्चालित वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । वाल्डो क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ्ग पक्राउ परेका हुन् ।उनलाई क्यासिनामा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरेर हुने गरेको ठगीबारे अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको हो । अलफ्ट होटल परिसरमा सञ्चालित क्यासिनोमा क्यासिनो इभेन्ट’को नाममा जुवा खेलाएर भारतीय समूहले ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालित क्यासिनो वाल्डोमा इभेन्ट नै आयोजना गरी तासमा चिप्स र आँखामा विशेष प्रकारको लेन्स लगाई ठगी हुने गरेको खुलासा केही दिनअघि प्रहरीले गरेको थियो ।उक्त आरोपमा सुरेश माहाजन, दिनेश बर्मा, विक्रम सिंह , प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे पक्राउ परेका थिए ।

क्यासिनोका नेपाली सञ्चालक सञ्चालक विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरजकुमार, हीरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश फरार रहेको बताएको प्रहरीले आज चिनियाँ लगानीकर्ता पक्राउ परेका हुन् । उनी उक्त क्यासिनोका मुख्य सञ्चालक रहेको प्रवक्ता भट्टराईले बताए । उक्त क्यासिनोमा डिसेम्बर ११ देखि १४ तारेखसम्म भारत र नेपालका विभिन्न समूह मिलेर इभेन्ट आयोजना गरिएको थियो । महाकाय समूहका मुख्य व्यक्ति सुरेश महाजनले नक्कली खेलाडीको व्यवस्थापन गरेको र चिप जडित ताज र विशेष प्रकारको लेन्सको जोहो गरेको प्रवक्ता भट्टराईले पत्रकार सम्मेलनमा बताएका थिए ।

ठगी गर्नैका लागि ५० प्याकेट म्याग्नेट जडित तास र ४ सय लेन्स भारतबाट खरिद गरेर ल्याएको पाइएको थियो । आँखामा विशेष प्रकारको लेन्स लगाएपछि तासको दुवैतर्फ देखिने र अन्य खेलाडीलाई ठगी गर्ने स्पष्ट नियत देखिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको थियो ।ठगी गरेर जितेको रकमको ९० प्रतिशत इभेन्ट सञ्चालकले र बाँकी १० प्रतिशत खेलाडीले पाउने गरी सञ्चालक सुरेश माहाजन र दिनेश बर्माबीच सहमति भएको समेत अनुसन्धानबाट खुलेको थियो । पक्राउ परेका व्यक्तिका साथबाट प्रहरीले नेपाली र भारतीय रूपैयाँ, चिप जडित तास, लेन्स, हवाई टिकटलगायतका सामान बरामद गरेको छ ।