
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्बिर प्रयोग गरी ह्वाट्सएपमार्फत ठगी गरिएको घटना सार्वजनिक भएको छ । नक्कली ह्वाट्सएप एकाउन्ट बनाएर आर्थिक सहयोग मागिएको भन्दै उनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेकी छन् ।
उपमेयर डंगोलले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत स्क्रिनसट सार्वजनिक गर्दै उक्त ह्वाट्सएप खाता र प्रयोग गरिएको नम्बर आफ्नो नभएको स्पष्ट पारेकी छन् । स्क्यामरले आफूलाई अप्ठ्यारो परेको बहाना बनाउँदै ई–सेवाको क्यूआर कोड पठाएर पैसा माग्ने गरेको पाइएको छ ।
उनका अनुसार यस विषयमा नेपाल प्रहरी र दूरसञ्चार निकायलाई जानकारी गराइसकिएको छ र कानुनी प्रक्रिया अघि बढाइएको छ । उनले कसैलाई पनि उक्त नक्कली खातामार्फत कुनै पनि प्रकारको आर्थिक कारोबार नगर्न आग्रह गरेकी छन् ।
उपमेयर डंगोलले लेखेकी छन्, ‘मेरो नाम र फोटो दुरुपयोग गरी नक्कली नम्बरबाट पैसा माग्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ । यो म होइन र यो मेरो नम्बर पनि होइन । कृपया यस्तो सन्देश आएमा पैसा नपठाउनुहोस् र प्रतिक्रिया पनि नदिनुहोस् ।’