
अमेरिकाले उत्तर पश्चिम नाइजेरियामा इस्लामिक स्टेट आतङ्कवादी सङ्गठन विरुद्ध शक्तिशाली र घातक सैन्य हमला सुरु गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । यो कारबाही उनको निर्देशनमा गरिएको सामाजिक सञ्जाल प्लेटफर्ममा एक पोस्टमा ट्रम्पले भनेका छन् । राष्ट्रपति ट्रम्पले आईएसलाई ‘आतंकी फोहोर’को संज्ञा दिँदै संगठनले मुख्य रूपमा निर्दोष इसाई धर्मावलम्बीहरूलाई निशाना बनाउने र विभत्स हत्या गर्ने गरेको आरोप लगाएका छन् ।
अमेरिकी सेनाले कयौं सटिक आक्रमण गरेको भने पनि ट्रम्पले आक्रमणसँग सम्बन्धित अन्य जानकारीहरू भने सार्वजनिक गरेका छैनन् ।नाइजेरियाका विदेशमन्त्री युसुफ माईटामा तुग्गारले बीबीसीसँग कुरा गर्दै यो कारबाहीलाई दुवै देशबीचको संयुक्त अभियान भनेका छन्। उनका अनुसार उक्त कारवाही कुनै धर्म विशेषलाई लक्षित गरेर नभई आतंकवादीहरू विरुद्ध गरिएको हो। उनले आवश्यकता परे थप प्रहार हुन सक्ने संकेत पनि दिएका छन्।
ट्रम्पले सामाजिक संजालमा आईएसलाई आतंकवादी अपराधी भन्दै निर्दोष मानिसहरूलाई निशाना बनाएको आरोप लगाएका छन् । उनले आफ्नो नेतृत्वमा कट्टरपन्थी इस्लामिक आतंकवादलाई फस्टाउन नदिइने बताएका थिए। उनले नाइजेरियामा इसाई समुदायमाथिको उत्पीडनको प्रसंग पनि उठाएका थिए। यद्यपि मानवअधिकार समूहहरूले इसाईहरू मात्र लक्षित गरिएको ठोस प्रमाण नभएको बताएका छन्।