
सुनाखरी न्युज/ काठमाडौं ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको तथा बढुवा लिएको आरोपमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी ) लालबाबु गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।प्रहरी नायब निरीक्षक ( सई ) बाट जागिर सुरु गरेका एसएसपी लालबाबु गिरीको एलएलसी प्रमाणपत्र नक्कली रहेको भेटिएको हो। गिरीविरूद्ध नक्कली प्रमाणपत्र पेस गरी प्रहरीको उच्च पदमा पुगेर लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। गिरी १६ पुस २०५२ मा प्रहरी सेवामा भर्ना भएका थिए।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार गिरीले जागिर सुरु गर्दा बिहार स्कुल एक्जामिनेसन बोर्ड पटनाबाट सन् १९८८ मा एलएलसीको योग्यता हासिल गरेको प्रमाणपत्र पेस गरेका थिए। त्यही सर्टिफिकेटका आधारमा उनले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पीसीएल नर्सिङ पास गरे। सोही सर्टिफिकेट पेस गरी उनले २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पोस्ट बेसिक ब्याचलर इन नर्सिङ गरेका थिए। उनले उक्त प्रमाणपत्रहरू पेस गरी २०५२ मा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक ( प्राविधिक) पदमा सुरु नियुक्ति लिएका थिए। सोही आधारमा बढुवा हुँदै उनी प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी ) पदमा पुगेका थिए।
झूट्टा र नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी सरकारी ओहदा, लाभ र सुविधाहरू लिएको देखिएकोले निजले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ( १) बमोजिमको कसुर गरेको आयोगको दाबी छ। आयोगले गिरीलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा ( २) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ( १) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए।