
सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीभित्र सबै तहका नेता–कार्यकर्तासँग सम्मानजनक व्यवहार सुनिश्चित नभए त्यसका परिणाम अप्रिय र नोक्सानदायी हुन सक्ने चेतावनी दिएका छन्। ११औँ राष्ट्रिय महाधिवेशनपछि देखिएका प्रतिक्रिया र चर्चालाई लक्षित गर्दै उनले अनावश्यक भ्रम र तरंग सिर्जना नगर्न आग्रह गरेका छन्।
पोखरेलले विगतमा पार्टीभित्रको आन्तरिक विवादले एमालेले भोग्नुपरेका नकारात्मक अनुभवको स्मरण गराउँदै त्यसै किसिमको अवस्था दोहोरिन नदिन नेतृत्व गम्भीर हुनुपर्ने बताएका छन्। संस्थागत रूपमा भएका निर्णयको विरोधमा कुनै गतिविधि नहुने दाबी गर्दै उनले व्यवहारमा काखा–पाखा देखिए असन्तुष्टि स्वाभाविक रूपमा व्यक्त हुने धारणा राखेका छन्।
महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेलले सामाजिक सञ्जाल मार्फत सार्वजनिक धारणा राख्दै महाधिवेशनबाट भएका संस्थागत निर्णयको पालना सबैको कर्तव्य भएको स्पष्ट पारेका छन्। तर, निर्णयको पालना भन्दै नेता–कार्यकर्ताबाट आत्मसमर्पण अपेक्षा गर्नु गलत हुने उनको भनाइ छ। “सबैले आत्मसमर्पण होइन, आत्मसम्मान खोज्छन्,” उनले उल्लेख गरेका छन्।
उनका अनुसार यसपटक नेतृत्व चयनमा सर्वसम्मति बन्न नसक्नुका पछाडि नेतृत्वबाट ठोस पहल नहुनु पनि एउटा कारण हो। यसले कतिपय प्रतिनिधिहरूमा नेतृत्वबाट योजनाबद्ध रूपमा केहीलाई विदा गर्न खोजिएको हो कि भन्ने प्रश्न पैदा गरेको उनको संकेत छ।