२०८२ फाल्गुन २२ , शुक्रवार

शैक्षिक हडतालका कारण काठमाडौँका कतिपय विद्यालय बन्द

school close (1)

सुनाखरी न्युज/ काठमाडौ ।

सोमबारका लागि आह्वान गरिएको भनिएको उपत्यकाव्यापी शैक्षिक हडतालको प्रभाव राजधानीका कतिपय विद्यालयमा देखिएको छ । हडतालका कारण आज कतिपय विद्यालय बन्द भएका छन् भने ती विद्यालयले सूचना समेत जारी गर्दै पठनपाठन स्थगित गरिएको जानकारी गराएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन  ( क्रान्तिकारी ) ले निःशुल्क शिक्षाको सुनिश्चितता, शिक्षामा भइरहेको निजीकरण अन्त्य, र शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्ने मागसहित एक दिने आम शैक्षिक हडतालको घोषणा गरेको हो। हडतालका कारण काठमाडौं उपत्यका भित्र र बाहिरका केही जिल्लाका विद्यालयहरू बन्द भएका छन्। काठमाडौंका धेरै निजी विद्यालयहरूले बिहीबार साँझ नै अभिभावकहरूलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी दिएका थिए।

यद्यपि, केही विद्यालयहरूले आन्तरिक परीक्षा जारी राखेका कारण पठनपाठन सञ्चालनमा राखेका छन्। रुपन्देहीका सरकारी तथा निजी विद्यालय र कलेजहरू पनि बन्द रहेका छन्।  यसबीच, कतिपय अभिभावक र विद्यार्थीहरूले विद्यालय तथा कलेज बन्द गरेर आफूहरूलाई अध्ययनको अधिकारबाट बञ्चित गरिएको भन्दै असन्तोष जनाएका छन्।