२०८२ फाल्गुन २२ , शुक्रवार

दिल्लीमा वायु प्रदूषणको अवस्था भयावह, काठमाडौंको वायु प्रदूषणले नाघ्यो अस्वस्थको तह

Kathmandu

सुनाखरी न्युज/ काठमाडौं ।

भारतको राजधानी दिल्लीमा हावाको गुणस्तर ‘गम्भीर’ स्तरमै रहेको छ ।

दिल्लीका विभिन्न क्षेत्रमा मंगलबार एयर क्वालिटी इन्डेक्स ४०० नाघेको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले जनाएको छ ।

 

सीपीसीबीका अनुसार मंगलबार बिहान ८ बजे वजीरपुर र मुन्डकामा एक्युआई ४२६ मापन गरिएको छ, जुन अत्यन्तै जोखिमपूर्ण अर्थात खतरनाक मानिन्छ ।

यसैगरी अशोक विहारमा ४१०, आनन्द विहारमा ४०६, बवानामा ४०३ र आईटीओ क्षेत्रमा ४०२ रहेको छ ।

 

अन्य क्षेत्रहरूमा पनि वायु गुणस्तर निकै खराब अवस्थामा देखिएको छ । नरेला क्षेत्रमा ३८८, चाँदनी चौकमा ३८०, बुराडीमा ३७६, रोहिणीमा ३५६, शादिपुरमा ३५५ तथा नजफगढमा ३४८ मापन गरिएको छ ।

४०१ देखि ५०० सम्मको एक्युआईलाई ‘गम्भीर’ र ३०१ देखि ४०० सम्मकोलाई ‘धेरै खराब’ श्रेणीमा राखिन्छ ।

यसअघि गत शनिबार दिल्ली-एनसीआर क्षेत्रमा वायु गुणस्तर गम्भीर अवस्थामा पुगेपछि ग्र्याप–४ ९ग्रेडेड रिस्पोन्स एक्शन प्लान० लागू गरिएको थियो ।

ग्र्याप-४ अन्तर्गत निर्माण कार्यमा कडाइ, सवारी साधन नियन्त्रण तथा अन्य आपतकालीन उपायहरू लागू गरिएका छन् ।

 

काठमाडौंको वायु प्रदूषणले नाघ्यो अस्वस्थको तह

काठमाडौंमा वायुको गुणस्तर खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थको तह नाघेको छ ।

रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ९समाचार तयार पार्दासम्म० काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १५२ छ । १५१ नाघ्नुलाई अस्वस्थ मानिन्छ ।

 

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

काठमाडौं समग्रमा संसारकै अस्वस्थ सहरमध्ये ११औं स्थानमा रहेको छ । पहिलो स्थानमा पाकिस्तानको लाहोर र दोस्रो स्थानमा भारतको दिल्ली रहेको छ । यी दुवै सहरमा वायु प्रदूषणले खतरनाकको तह अर्थात ३१५ नाघेको छ ।