
सुनाखरी न्युज/ काठमाडौं ।
पूर्वराजाको ‘भान्जा’ बनेर ठग्ने अनुप कुमार सिंहलाई प्रहरीले पुनः पक्राउ गरेको छ । ठगी गरेको आरोपमा सिंहलाई झापाबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । काठमाडौँ महानगरपालिका–२७ असन घर भएर ललितपुर बस्दै आएका सिंह भारत भाग्दै गरेको अवस्थामा झापाको धुलाबारीबाट पक्राउ गरेका हुन् । उनीसँगै उनका सहयोगी दोलखा घर भएका लड्डु श्रेष्ठ पनि पक्राउ परेका छन् । बेलायतमा पूर्व राजपरिवारको लगानीमा ड्रिमल्याण्ड नामको होटल सञ्चालनमा आउन लागेको भन्दै सिंहले सिन्धुली घ्याङलेकका ५० जना भन्दा धेरैलाई ठगेको आरोप छ । आफूलाई मनोज कुमार भनेर चिनाउने सिंह यसअघि पनि ठगी मुद्दामा पक्राउ परेर २०८१ चैत १ मा जेल चलान भएका थिए । जेलबाट छुटेपछि उनले फेरि ठगी धन्दा सुरु गरेको अनुसन्धानबाट थाहा भएको एसपी आचार्यले बताए ।