२०८२ फाल्गुन २२ , शुक्रवार

पर्यटन मन्त्रालयको जिम्मेवारी सिन्हालाई

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी कानुनमन्त्री अनिलकुमार सिन्हालाई दिने भएकी छिन् । शुक्रबार दिउँसो हुने मन्त्रिपरिषद् विस्तारका क्रममा केही मन्त्रीहरूको जिम्मेवारी पनि हेरफेर हुँदैछ । सो क्रममा अहिले प्रधानमन्त्री कार्की आफैंले सम्हालिरहेको पर्यटन मन्त्रालयको जिम्मेवारी मन्त्री सिन्हालाई दिन लागिएको शीतलनिवास स्रोतले जानकारी दिएको छ । सिन्हाले सम्हाल्दै आएको भूमि मन्त्रालयको जिम्मेवारी भने कुमार इङ्नामलाई दिइने भएको छ । सिन्हाले अब उद्योग, कानुन र पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । उक्त स्रोतका अनुसार, नयाँ बन्न लागेका मन्त्रीमध्ये केहीले पर्यटन मन्त्रालयमा आफ्नो विज्ञता रहेको र सोही मन्त्रालय सम्हाल्ने इच्छा व्यक्त गरेका थिए । तर, प्रधानमन्त्री कार्कीले पर्यटनको जिम्मेवारी नयाँलाई नदिई आफ्ना पुरानै सारथिमध्येका एक सिन्हालाई दिन लागेकी हुन् । वायुसेवा निगमको सुधारलाई लिएर प्रधानमन्त्री कार्की चिन्तित रहेको र प्रत्येक दिनजसो बैठक र छलफल चलिरहेको उनीनिकट स्रोत बताउँछ । यसअघि तेस्रोपटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि पर्यटन मन्त्रालय कसले लिने भन्नेबारेमा रस्साकस्सी चलेको थियो । त्यतिबेला मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठले पर्यटन मन्त्रालय नपाएरै मन्त्री बन्न अस्वीकार समेत गरेका थिए ।