२०८२ फाल्गुन २४ , आइतवार

अवध क्षेत्रको बाँकेमा मिथिलावासी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

लुम्बिनी प्रदेशको बाँके जिल्ला अवधवासीको बाहुल्य क्षेत्र मानिन्छ, तर यहाँ मिथिलावासीको पनि उल्लेख्य बसोबास छ भनेर धेरै थाहा छैन । हिजोआज होइन, नेपालगञ्ज आसपासका क्षेत्रमा एक सय ५० वर्षदेखि मिथिलावासीको बसोबास छ । आफ्ना संस्कृति र रहनसहनलाई संरक्षण गर्दै मिथिलावासी यहाँ बसोबास गर्दै आउनुभएको छ । यो सङ्ख्या निरन्तर बढ्दै गएको छ, जुन बेला बेला हुने मैथिल समुदायका विभिन्न सांस्कृतिक पर्वहरू देखिन्छ । यहाँ विभिन्न समाज पनि क्रियाशील छन्, तिनले आफ्ना संस्कृति संरक्षणका लागि पहल गर्दै आएका छन् । त्यसमध्येको एक हो, चित्रगुप्त सेवा समाज । मैथली समुदायभित्र चित्रगुप्तलाई विद्याको देउता मानेर मानिन्छ । बर्सेनि त्यसको पूजाआजा हुँदै आएको छ । नेपालगञ्ज-८ निवासी पूर्वसहप्राध्यापक तथा मङ्गलप्रसाद महिला कलेजका प्रार्चाय रवीन्द्र कर्ण भन्नुहुन्छ,“चित्रगुप्तलाई हामीले ‘कलम द्वैध’ भनेर कलम र मसीको पूजा गर्छौं, त्यो दिन लेख्ने पढने हुँदैन । तीस वर्षदेखि निरन्तर बागेश्वरी परिसरमा रहेको चित्रगुप्तको मन्दिरमा पूजा गर्दै आएका छौँ । चित्रगुप्त सेवा समाज गठन भएको चार वर्ष भएको छ ।”

सहप्राध्यापक कर्णका अनुसार पहिले घर–घरमा पूजा हुने गथ्र्यों, पछिल्लो समय एक ठाउँमा भेला भएर पूजाआजा गर्ने गरिएको छ । काठमाडौँ र जनकपुर क्षेत्रमा चित्रगुप्तका ठूलाठूला मन्दिरसमेत छन् । यसबाहेक छठ, जीतिया, सामचकेवा,फगुवा दशहरा, दीपावलीलगायत पर्वको संरक्षण तथा सम्वर्द्धन गर्दै आइएको पूर्वसहप्राध्यापक कर्णले बताउनुभयो । मैथिली संस्कृतिमा उत्तिकै महत्त्का साथ मनाइने सामचकेवा र जीतिया पर्व भने यहाँ घरमा मात्रै सीमित रहेको बताउनुभयो । “वर्षौं पहिले हजुरबुबा नेपालगञ्ज आएको र त्यतिबेलाको नेपालगञ्ज अहिले जस्तो थिएन । मेरो बुबा चन्द्रपतिलाल कर्ण महेन्द्र माध्यमिक विद्यालयका संस्थापक हुनुहुन्थ्यो । मेरो जन्म २०१५ सालमा यही भयो । यहाँ मैथली समुदायभित्रका कर्णपरिवारका करिब ५० घर छन् । बाँकेमा खासगरी कर्ण, यादव, शाह, दास, ठाकुर, मल्लिक, महतो, श्रीवास्तव, सक्सेनालगायतका सात सयभन्दा बढी घरपरिवार छन्”, कर्णले भन्नुभयो । शिक्षक वीरेन्द्र यादव नेपालगञ्ज बाहेक कोहलपुर, खजुरा, राप्तीसोनारी र केही नरैनापुरमासमेत मैथिलीभाषिको बसोबास उल्लेख्य रहेको बताउनुहुन्छ । वर्षांै पहिले शिक्षा, स्वास्थ्य, नापी, पशु स्वास्थ्य, शिक्षकलगायत कामका सिलसिलामा मैथलीभाषी यहाँ आएको र पछि यतै बस्न थालेको उहाँको भनाइ छ । पूर्वी नेपालको बारा, सर्लाही, सिराहा, सप्तरी, धनुषाको जनकपुरधामलगायत मैथलीभाषीको यहाँ उल्लेख्य बसोबास छ । नेपालगञ्जको वडा नं १५ स्थित बुलबुलियामा मैथिलीवासी धेरै रहेको शिक्षक यादव बताउनुहुन्छ ।
रासस