
अष्ट्रेलियाको क्यानबेरास्थित एसीटी सुप्रिम कोर्टले एक युवतीमाथि बलात्कार गरेको अभियोगमा एक नेपाली युवालाई तीन वर्षको जेल सजाय सुनाएको छ। अदालतले ३१ वर्षीय अभिषेक तिमल्सिनालाई बलात्कारको दुई अभियोग र सहमति बिना चार अश्लील कार्यको दोषी ठहर गर्दै ३ वर्षको जेल सजाय सुनाएको अष्ट्रेलियाली समाचार संस्था एबीसी न्यूजले उल्लेख गरेको छ ।
युवकले क्यानेबेरामा रहेको एक मलमा आफू काम गर्ने आर्ट पसलमा ग्राहकलाई बलात्कार गरेको अभियोगमा दुई पटक मुद्दा चलाएको थियो। ग्राहक सामान किन्न आएकी थिइन्। तिमल्सिनाले पसलको सटर लगाए, महिलालाई कामको सर्ट लगाउन लगाए, उनको फोटो खिचे र सहमति बिनै चुम्बन गरे।
त्यसपछि उनले महिलालाई पछाडिको कोठामा लगे जहाँ महिलाले ‘असफल प्रतिरोध’ गरे पनि उनले दुई पटक बलात्कार र धेरै पटक अश्लील दुर्व्यवहार गरे। एटीसी सर्वोच्चका न्यायाधीश भेरिटी म्याकविलियमले तिमल्सिनाले युवतीमाथि बलात्कार गर्ने वातावरण योजनाबद्ध रूपमा बनाएको फैसलामा उल्लेख गरेका छन्।
उनले पसलको रोलर ढोका बन्द गर्नु, ‘स्वतःस्फूर्त’ फोटो खिच्न सुरु गर्नु र महिलालाई शर्ट फेर्न आग्रह गर्नुलाई योजनाबद्ध कार्यको रूपमा लिएका छन्। न्यायाधीशले लेखेका छन्, “पीडित पसलमा बन्द थिइन्, जसले गर्दा उनीमाथि जोखिम बढ्यो।” नेपालमा हुर्किएका तिमल्सिना १२ महिनाभन्दा बढी जेल परेमा निर्वासनको जोखिममा पर्ने छन्।