
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालमा मस्तिष्कघातको अध्ययन–अनुसन्धानका लागि एकदिने कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । नेपाल मस्तिष्कघात सङ्घको आयोजना तथा विश्व मस्तिष्कघात सङ्गठन, नेपाल मस्तिष्कघात परियोजना र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा आज मस्तिष्कघातको वर्तमान अवस्था र आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा छलफल गरिएको हो । कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष डा राजु पौडेलले एकदिने कार्यशालामा मस्तिष्कघात हुन नदिनका लागि के गर्ने, मस्तिष्कघात भएपछि कसरी समयमै उपचार गर्ने र उपचारपछिको फिजियोथेरापी सेवालाई कसरी प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल भएको बताउनुभयो । “समयको परिवर्तनसँगै परम्परागत उपचार विधिलाई कसरी आधुनिकतर्फ लैजान सकिन्छ, नेपालको सन्दर्भमा यसको उपचारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे कार्यशालामा छलफल हुनेछ”, डा पौडेलले भन्नुभयो । नेपालमा मस्तिष्कघातको उपचारबारे निर्देशिका तयार गरी सङ्घले सरकारलाई बुझाइसकेको छ ।
नेपालमा प्रत्येक १० मिनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको तथ्याङ्क छ । नेपाल मस्तिष्कघात सङ्घले गरेको अध्ययनमा प्रत्येक वर्ष नेपालमा मस्तिष्कघातका कारण ५० हजारदेखि ६० हजार मानिस प्रभावित हुने र १० मिनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको हो ।“एक जटिल शारीरिक अवस्थाका रुपमा रहेको मस्तिष्कघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ, मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ, यसलाई नै मस्तिष्कघात भनिन्छ, समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ”, उहाँले भन्नुभयो । वरिष्ठ न्यूरोलोजिस्ट डा लेखजङ्ग थापाले नेपालमा मस्तिष्कघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्न सन् २०१७ मा नेपाल मस्तिष्कघात सङ्घ स्थापना गरी विभिन्न कार्यक्रम गरिँदै आएको बताउनुभयो ।
सङ्घले भर्खरै विश्वका एक दर्जन बढी मुलुकका ५०० बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थितिमा ‘हिमालय अन्तरराष्ट्रिय मस्तिष्कघात सम्मेलन’ आयोजना गरिसकेको डा थापाले बताउनुभयो । मस्तिष्कघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने सहभागीले बताएका छन् । विश्वमा हरेक चारमा एक जनालाई र तीन सेकेन्डमा एक जनालाई पक्षाघातको सम्भावना हुने भएकाले यसबाट सजग हुनुपर्ने उहाँहरुको भनाइ छ । नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा मस्तिष्कघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको छ । मस्तिष्कघातको क्षेत्रमा सफल उपचार गरेबापत भर्खरै ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले विश्व मस्तिष्कघात सङ्गठनबाट ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको छ । एकदिने मस्तिष्कघात अनुसन्धान कार्यालयमा देशभरका विभिन्न अस्पतालका ५० भन्दा बढी डाक्टर तथा विदेशी डाक्टरको समेत सहभागिता रहेको छ । उक्त कार्यशालामा मस्तिष्कघातको उपचारबाट पुनर्जीवन पाएका बिरामीहरुको सफलताका कथा प्रस्तुत गरिएको थियो ।
रासस