२०८२ फाल्गुन २३ , शनिवार

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना

2082-08-15

सुनाखरी न्युज/ काठमाडौं ।

संवत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय आज निर्वाचन आयोग, बहादुर भवन, कान्तिपथ, काठमाडौंमा स्थापना भएको छ। सो कार्यालयको एक समारोहका बीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त माननीय राम प्रसाद भण्डारीले उद्‍घाटन गर्नुभएको हो। समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको मिति २०८२ मंसिर १२ गतेको निर्णयानुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिनु भएका आयोगका सचिव  माहादेव पन्थले आजै सो जिम्मेवारी वहन गर्नु भएको छ। उक्त निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतको रूपमा आयोगका सहसचिव श्री यज्ञ प्रसाद भट्टराईलाई तोकिएको छ। समानुपातिक निर्वाचन व्यवस्थापनको लागि कुल ४१ जना कर्मचारीहरू कार्यरत रहने छन्।

कार्यालयको उद्‍घाटन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त माननीय राम प्रसाद भण्डारीले समानुपातिक निर्वाचन प्रणालीका सबै कार्यहरू निर्वाचन अधिकृतको कार्यालयबाट हुने हुँदा सबै सरोकारवालालाई सहज हुने विश्वास व्यक्त गर्नुका साथै सूत्रात्मक पद्दतिबाट राष्ट्रिय तथ्याङ्क कार्यालयसमेतको सहयोगमा कानुन बमोजिमका जातीय, भौगोलिक, लैङ्गिक लगायतका समूहहरू छुट्‍याएर प्रतिनिधि चयन गरिने भएकोले सबै पक्षको भरोसा रहने विश्वास व्यक्त गर्नुभयो। सो कार्यक्रममा निर्वाचन आयुक्तद्वय माननीय डा. जानकी कुमारी तुलाधर र माननीय सगुन शम्शेर ज. ब रा. एवम् आयोगका सचिव माहादेव पन्थ लगायतको उपस्थिति रहेको थियो।

आजै नेपाल सरकारका अर्थमन्त्री माननीय रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री माननीय अनिल कुमार सिन्हाले निर्वाचन आयोगमा माननीय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र माननीय आयुक्तहरूसँग निर्वाचन पूर्वतयारीको अवस्था र आगामी दिनमा निर्वाचन सम्पन्‍न गर्नका लागि नेपाल सरकारले आयोगलाई उपलब्ध गराउनुपर्ने सहयोगका विषयमा छलफल गर्नुभएको छ। छलफलमा माननीय अर्थमन्त्रीले निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक पर्ने बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेतको कार्यभार सम्हाल्नु भएका माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्रीले निर्वाचन सम्पन्न गर्नको निम्ति आवश्यक कानूनी सहायता उपलब्ध गराउने कुरा राख्दै निर्वाचन सम्पन्न गर्ने कार्यमा स्वदेशी वस्तु र उत्पादनको प्रयोग गर्न आयोगलाई अनुरोध गर्नुभयो। सो छलफलबाट आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्न थप मद्दत पुगेको छ।