
सुनाखरी न्युज/ काठमाडौं ।
कांग्रेस महाधिवेशनको तालिका सार्वजनिक भएको छ । डेढ महिनाको रस्साकसीपछि केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशन तालिका सार्वजनिक भएसँगै पार्टीभित्रका सम्भावित समीकरणको अड्कलबाजी र आकांक्षीहरूको सक्रियता बढ्न थालेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता शेखर कोइरालाका पोस्टरहरू सामाजिक सञ्जालमा छाउन थालेका हुन् ।
देउवाले आफ्नो उत्तराधिकारीका रूपमा अहिलेसम्म कसैलाई अघि सारेका छैनन् । उनले कार्यवाहक सभापति खड्कालाई समर्थन गर्छन् वा अरू कुनै नेतालाई अघि सार्छन् भन्नेबारेमा चासोपूर्वक हेरिएको छ । देउवाले आफ्नो राजनीतिक सुरक्षा र हितलाई केन्द्रमा राखेर निर्णय लिन सक्ने उनीनिकट नेताहरूको आकलन छ । ‘तर यसअघिका परम्परागत गुटहरू अब रहन्नन् । सबै भत्किएर नयाँ समीकरण र ध्रुवीकरण हुने देखिन्छ’ संस्थापन पक्षका एक पदाधिकारीले भने, ‘महाधिवेशनको सुनिश्चितता नभएसम्म अझै समीकरणको अड्कलबाजी गर्न हतारो हुन्छ ।’
निर्वाचनअगाडि महाधिवेशन गर्ने कि नगर्ने भन्ने विवादमा डेढ महिनादेखि अल्झेको कांग्रेसले सोमबार केन्द्रलगायत सातै तहका अधिवेशनको तालिका सर्वसम्मतिले पारित गरेपछि डेढ महिनादेखिको गतिरोध फुकेको छ । छोटो समयभित्र अधिवेशन हुने संशय एकातिर छ भने अर्कोतर्फ विशेष महाधिवेशनको माग फिर्ता भएको छैन । महामन्त्रीहरूले नियमित बाधा पर्नसाथ विशेष महाधिवेशनको प्रक्रिया सक्रिय हुने बताएका छन् ।